काठमाडाैँ- निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७१ जना नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसअघि नियुक्त भएका ७१ निर्वाचन अधिकृतलाई विभिन्न कारणले हटाइएको र नयाँ निर्वाचन अधिकृत नियुक्त गरिएको जानकारी दिए ।
उनले निर्वाचन अधिकृतका लागि प्रशिक्षण प्रदान गर्नेहरूलाई प्रशिक्षण दिइएको जानकारी दिए । त्यस्तै, आयोगले आचारसंहितका कार्यान्वयनका लािग विभिन्न दलबाट प्रतिबद्धता लिइएको बताए ।
उनले एमालेले आचारसंहिताका केही विषयमा अस्पष्टता जाहेर गर्दै पत्र बुझाएको धारणा राखे । अर्यालले मतपत्र छपाईको कार्य सुरु भइसकेको र दुर्गम स्थानमा ढुवानी गर्नका लागि सो क्षेत्रको मतपत्र छपाइलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
उनले निर्वाचनका लागि आवश्यक सामाग्रीहरू आउनेक्रम जारी रहेको बताए ।