×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज वाग्मती र कर्णालीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज वाग्मती र कर्णालीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं- आज देशभरको मौसम बदली रहेको छ । आज, भोलि र पर्सि मौसम बदली रही धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज वाग्मती र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुन न्यून चापीय रेखा नेपालको तराई पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा रहेको छ ।

मनसुन सुरु भएपछि अहिलेसम्म देशका धेरै ठाउँमा सरदर वर्षा भएको छ । यो वर्ष जेठ १८ देखि साउन २६ अर्थात् जुन १ देखि अगष्ट ११ सम्म ८ सय ५८ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिलेसम्म विशेषगरी देशका पहाडी भेगमा बढी वर्षा भएको तथा तुलनात्मक रूपमा तराई क्षेत्रमा कम वर्षा भएको छ ।

प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी वर्षा भएको छ । तर मधेस प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो भू–भागमा सरदर भन्दा कम वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा धेरै वर्षा हुने यसअघि नै प्रक्षेपण गरेको थियो ।

विभागको हावापानी शाखाका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार यो वर्षको मनसुनको औसत सरदर वर्षा १ हजार ४ सय ६२ मिलिमिटर हुने प्रक्षेपण छ । मनसुन अवधिमा १ हजार ५ सय मिलिमिटर हाराहारी वर्षा हुनेगर्छ । अझै दुई महिना वर्षा हुने भएकाले बढी वर्षा हुने आकलन गरिएको उनको भनाइ छ ।

नेपालमा यो वर्ष गएको जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको थियो । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली क्षेत्रमा मनसुनको अवधि मानिन्छ ।

प्रतिकृया दिनुहोस्