×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘प्रसाद–२’ शुक्रबारदेखि प्रदर्शनमा

‘प्रसाद–२’  शुक्रबारदेखि प्रदर्शनमा

काठमाडौँ- शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘प्रसाद–२’ ले फिल्मकर्मी, पत्रकार र सामाजिक अगुवालगायतबाट राम्रो प्रतिक्रिया पाएको छ । प्रदर्शनीको चार दिनअघि राजधानीमा गरिएको प्रिमियर शोमा फिल्म हेरेपछि अधिकांशले ‘प्रसाद–२’ ले सामाजिक तथा जातीय मुद्दालाई रचनात्मक ढंगले उठाएको’ भन्दै प्रशंसा गरेका थिए ।

फिल्म हेरिसकेपछि संविधानविद् भीमार्जुन आचार्यले आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रसाद–२ सामाजिक न्यायको पक्षमा सशक्त आवाज ।’

सुदर्शन थापाको निर्देशनमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, विशाल पहाडीलगायत कलाकारको मुख्य भूमिका रहेको फिल्म हेरिसकेपछि अभिनेता दीपकराज गिरीले ‘गम्भीर विषयमा गम्भीरतापूर्वक बनाइएको चलचित्र प्रसाद’ भनी टिप्पणी गरेका छन् ।

चार वर्षअघि नै प्रदर्शनमा आएको ‘प्रसाद’ कै बाँकी कथा भनिएको फिल्ममा अन्तरजातीय विवाह गरेका एक जोडीको प्रेमिल कथालाई केन्द्रमा राखेर सामाजिक जातीय विभेद, राजनीतिक विकृति, समाजका अगुवाको हैकमवादी प्रवृत्तिविरुद्ध गर्ने संघर्षलाई चित्रण गरिएको छ ।

‘प्रसाद–२ फिल्म उत्कृष्ट लाग्यो । फिल्मले यथार्थतामा बसेर सर्वाधिक महत्त्वका सामाजिक मुद्दा, द्वन्द्व, प्रेमका सामाजिक र मनोवैज्ञानिक उल्झन देखाउन सफल छ,’ प्रिमियर शोपछि अभिनेत्री रेखा थापाले फिल्मबारे भनेकी छन्, ‘कसरी आर्थिक, सामाजिक हैसियतले राजनीति प्रभावित छ र कसरी राजनीति सिद्धान्तभन्दा परम्परा हावी छ भन्ने मसिनो र सुन्दर प्रस्तुति छ ।’ फिल्म प्रशिक्षार्थी किरण विकले ‘प्रसाद–२’ आर्ट ड्रामा र कमर्सियलको राम्रो संयोजन रहेको टिप्पणी गर्दै ‘फिल्म क्षेत्रको ‘रास्वपा’ बन्ने संकेत गरे ।

त्यसैगरी निर्माता सन्तोष सेनले आफ्नो आँखाले जे देख्छ त्यही बोल्छु भन्दै फेसबुकमा लेखेका छन्, ‘प्रसाद–२ महाराम्रो, सबैलाई मैले भनेको कुरा विश्वास नलाग्ला तर मेरो शुभचिन्तकलाई भन्छु ‘प्रसाद–२’ हेर्नुस् ।’

फिल्मबारे अभिनेत्री ऋचा शर्मा, पूजा शर्मा, जसिता गुरुङ, बसुन्धरा भुसाल, भुवन चन्द, दीपाश्री निरौला, रिमा विश्वकर्मासहित चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, अभिनेता धिरज मगर, रमेश उप्रेती, सरोज खनाल, निर्देशक, निर्माता, पत्रकारले फिल्मको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनय, निर्देशन पक्षलाई प्रशंसा गरेका छन् ।

सुशील पौडेलको लेखनमा तयार ‘प्रसाद–२’ को देशभरका मल्टिप्लेक्सले बुकिङका लागि खुल्ला गरेका छन् । फिल्मका वितरक गोपालकाजी कायस्थ प्रिमियरमा पाएको सुखद प्रतिक्रियाले व्यावसायिक सफलता मिल्नेमा आशावादी देखिए ।

‘बिस्तारै नेपाली फिल्मका दर्शकले पनि हिरो, हिरोइन मात्र नहेरी फिल्मको कथावस्तु र प्रस्तुति मूल्यांकन गरी फिल्म हेर्ने सूची बनाउन थालेका छन् । प्रिमियरमा पाएको प्रतिक्रियाले पनि ‘प्रसाद–२’ त्यो सूचीमा पर्छ भन्ने मेरो विश्वास छ,’ उनले भने ।

प्रतिकृया दिनुहोस्