×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एसिया कप: भारतद्वारा पाकिस्तान ६ विकेटले पराजित, अभिषेक शर्माको अर्धशतक

एसिया कप: भारतद्वारा पाकिस्तान ६ विकेटले पराजित, अभिषेक शर्माको अर्धशतक

काठमाडौं - ओपनर अभिषेक शर्माको उत्कृष्ट अर्धशतकको सहयोगमा भारतले एसीसी टी-२० एसिया कपको सुपर फोरमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १७२ रनको लक्ष्य पछ्याएको भारतले १८.४ ओभरमा ४ विकेट गुमाएर सहजै जित हासिल गर्यो।

भारतको जितमा अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रनको योगदान दिए। उनलाई शुभमन गिलले २८ बलमा ८ चौकासहित ४७ रन बनाएर राम्रो साथ दिए। गिल र शर्माले पहिलो विकेटका लागि ९.५ ओभरमा १०५ रनको शतकीय साझेदारी गर्दै भारतको जितको आधार तयार पारेका थिए। फहिम अशरफले गिललाई बोल्ड गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाएका थिए।

यसपछि कप्तान सूर्यकुमार यादव डक र सञ्जु स्यामसन १३ रनमा आउट भए। तर, तिलक बर्माले १९ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाउँदै भारतलाई जित नजिक पुर्याए। हार्दिक पान्ड्या ७ रनमा नटआउट रहे।

पाकिस्तानका लागि हरिस रौफले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए। फहिम अशरफ र अब्रार अहमदले १-१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। पाकिस्तानका ओपनर शहिबजादा फरानले ४५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रन बनाए। उनले खाता नखोल्दै र ३२ रनमा दुई जीवनदान पाएका थिए, जसको फाइदा उठाउँदै उनले महत्वपूर्ण अर्धशतक प्रहार गरे।

पाकिस्तानलाई ओपनर फखर जमान र शहिबजादा फरानले २.३ ओभरमा २१ रन जोड्दै आक्रामक सुरुवात दिलाएका थिए। लगातार तीन खेलमा शून्यमा आउट भएपछि सैम अयुबको स्थानमा फखरलाई ओपनिङमा ल्याइएको थियो। तर, हार्दिक पान्ड्याको बलमा एज लागेर विकेटकिपर सञ्जु स्यामसनले क्याच लिएपछि फखर विवादस्पद रूपमा आउट भए। रिप्लेमा बल पहिले जमिनमा लागेर किपरको गल्भ्समा गएको देखिए पनि अम्पायरले आउट दिएका थिए।

दोस्रो विकेटका लागि सैम अयुब र फरानले ७२ रनको महत्वपूर्ण साझेदारी गर्दै पाकिस्तानलाई बलियो योगफलतर्फ अग्रसर गराए। सैम अयुब १७ बलमा १ चौका र १ छक्कासहित २१ तथा हुसेन तालत १० रनमा आउट भए। सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ९१ रन बनाएको पाकिस्तानले त्यसपछि भने रनको गति बढाउन सकेन, जुन नै उनीहरूको हारको मुख्य कारण बन्यो।

मोहम्मद नवाज १९ बलमा २१ रनमा आउट भए। फहिम अशरफले ८ बलमा १ चौका र २ छक्कासहित २० तथा कप्तान सलमान अली अघा १७ रनमा अविजित रहे।

भारतका शिबम दुबेले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए। जस्प्रित बुमराहले ४ ओभरमा ४५ रन खर्चिदा विकेटविहीन बने। कुलदीप यादव र हार्दिक पान्ड्याले १-१ विकेट लिए।

यसअघि समूह चरणमा पनि पाकिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो।

सुपर फोरमा यसअघि शनिबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले हराएको थियो। अब मंगलबार पाकिस्तान र श्रीलंका तथा बुधबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। बिहीबार बंगलादेश र पाकिस्तान तथा शुक्रबार भारत र श्रीलंका खेल्नेछन्। सुपर फोरका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्।

प्रतिकृया दिनुहोस्