काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले बैठक बहिष्कार गरेको हो। त्यसअघि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरू छलफलमा सहभागी नहुने र बहिष्कार गर्ने बताएका थिए।
सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयकका सन्दर्भमा अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा उठेको जिज्ञासाका बारेमा जवाफ दिइरहेका बेला एमालेका सांसदहरुले उठेर विरोध जनाए।
एमालेले बजेट निर्माणको क्रममा राख्नुपर्ने गोप्यता नराखेको तथा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लगाएको छ।
तर, एमाले सांसदको विरोध तथा बहिष्कारका बीच अर्थमन्त्री जनार्दन शर्माले संसदमा जवाफ दिएका छन्।
अर्थमन्त्री जनार्दन शर्माले कर, राजश्व र भन्सार दर परिवर्तन प्रक्रियाअनुसार नै गरिएको बताए। उनले सचिवहरू र विभागीय प्रमुखको समितिले नै राजश्वका दर तय गरिएका दाबी गरे।
उनले भने, ‘राजश्वको दरहरू परिवर्तन गर्ने सन्दर्भमा आवश्यक प्रक्रिया छन्। प्रक्रियाका कुरा अस्ति पनि बताएको थिए। त्यसमा सम्बन्धित विभागीय प्रमुख र सचिवसहितको समितिले बसेर गर्ने प्रचलन रहेको छ। त्योअनुसार भएका दररेटप्रति म पूर्ण जिम्मेवार छु। जवाफदेही छु। त्यसमा कतै राष्ट्रघात भएको छ, कतै गद्दारी भएको छ भने त्यसको पूर्ण जिम्मेवारी लिन तयार छु। यहाँनेर कुनै राष्ट्रघात भएको छैन । देशको डलरको सञ्चितिलाई आयातलाई ध्यान दिएर हामीले उत्पादनलाई ध्यान दिएर औद्योगिक क्षेत्रलाई ध्यान दिएर नै दरहरू परिवर्तन भएको स्पष्ट गर्न चाहन्छु।’