काठमाडौं - आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले स्कटल्यान्डमाथि ऐतिहासिक जित हात पारेको छ ।
ओपनर आसिफ शेख र तीव्र गतिका बलरले उच्च प्रदर्शन गरेपछि घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै नेपालले इतिहास रचेको हो ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराउँदै इतिहास रचेको हो । यसअघि एकदिवसिय र टि२० दुबैमा नेपालले स्कटल्यान्डलाई हराउन सकेको थिएन । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
यो जितसँगै नेपाल अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । नेपाललाई सहज जिताउन युवा ओपनर आसिफ शेख ६२ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । आसिफले छक्का हान्दै ४८ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक पूरा गरेका थिए ।
रोहित पौडेल ३१ बलमा ५ चौकासहित ३४ रनमा अविजित रहे । रोहितले हम्जा ताहिरलाई विजयी चौका सहित खेल सकाएका थिए । दीपेन्द्रसिंह ऐरी ३ र आरिफ शेख १ रनमा आउट भए ।
आसिफ र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.२ ओभरमा ४७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । कुशल २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए । कुशल गेभिन मेनको बलमा विकेटकिपर म्याथ्यु क्रिसबाट क्याच आउट भए ।
देव खनाल १४ औं ओभरको तेस्रो बलमा देव खनाल एड्रियन नीलको बलमा एज लागेर फस्ट स्लिपमा ४ रनमा क्याच आउट भए । स्कटल्यान्डका लागि संकटमा अर्धशतक हानेका गेभिन मेनले सर्वाधिक तीन विकेट लिए ।
त्यसअघि टिटवुड ग्लासगोमा नेपालका टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड ४२.५ ओभरमा १ सय ४४ रनमा अल आउट भयो । एक समय ९५-९ को अवस्थामा पुगेको स्कटल्यान्डलाई अन्तिम विकेटका लागि हम्जा ताहिर र गेभिन मेनले ४९ रनको साझेदारीले साख बचाएका थिए ।
गेभिन ५९ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा अविजित रहे । यो उनको पहिलो अर्धशतक हो । ताहिर ४३ बलमा ७ रनमा अविजित रहे । मार्क वाट् १७ र शफ्यान शरिफ १६ रनमा आउट भए । तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको अन्तिम बलमा ओपनर म्याथ्यु क्रसलाई २ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए ।
करण केसीले सातौं ओभरको अन्तिम बलमा कलुम म्याकलिडलाई १३ रनमा क्याच गराए । उनले २१ बलमा २ चौका प्रहार गरे । उनी एज लागेर फस्ट स्लिपमा रहेका आरिफ शेखबाट क्याच आउट भएका थिए । लगत्तै अर्को ओभरको पहिलो बलमा ओपनर काइल कोट्जर सोमपालको बलमा थर्ड स्लिपमा कुशल भुर्तेलबाट ६ रनमा क्याच गराएपछि स्कटल्यान्ड २२–३ को कमजोर अवस्थामा पुगेको थियो ।
आदिल अन्सारीको बलमा एज लागेर जर्ज मुन्शे ४ रनमा कुशल भुर्तेलबाट आउट भए । सोमपालको १२ औं ओभरको पाँचौं बलमा कप्तान रिची बेरिङ्टन ३ रनमा आसिफबाट क्याच आउट भएपछि स्कटल्यान्ड ३३–५ को संकट अवस्थामा पुगेको थियो ।
आदिल अन्सारीले तल्लोक्रमका माइकल लिस्कलाई ४ र शफ्यान शरिफलाई १६ रनमा आउट गरे । दुबै ब्याटर एज लागेर आउट भएका थिए । ७९-८ को अवस्थाबाट पूनरागमन गरेको थियो । नेपालका सोमपाल कामीले १० ओभरमा ४० रन खर्चेर ३ विकेट लिए ।
आदिल अन्सारीले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३५ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र करण केसीले एक एक विकेट लिए ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपालले अव शनिबार नामिबिया र आइतबार स्कटल्यान्डसँग खेल्नेछ । यो जितसँगै नेपाल १८ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ ।