×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

अफगानिस्तानलाई पराजित गर्दै २४ वर्षपछि इंग्ल्यान्ड फाइनलमा

अफगानिस्तानलाई पराजित गर्दै २४ वर्षपछि इंग्ल्यान्ड फाइनलमा

काठमाडौँ- यू-१९ विश्वकपमा इंग्ल्यान्डले २४ वर्षपछि फाइनलमा स्थान बनाएको छ । मंगलबार राति भएको रोमाञ्चक सेमिफाइनलमा अफगानिस्तानलाई १५ रनले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । 

वेस्टइन्डिजमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा ४७ ओभरमा घटाइएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेट गुमाएर २ सय ३१ रनको लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तान २ सय १५ रनमा समेटियो ।

इंग्ल्यान्डका लागि जर्ज बेल र एलेक्स होर्टनले सातौँ विकेटका लागि ९५ रनको सानदार साझेदारी गरेपछि अफगानिस्तानलाई फराकिलो चुनौती दिन इंग्लिस टीम सफल भएको थियो ।

उसका लागि ओपनर जर्ज थोमसले ५० रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै छैटौँ नम्बरमा ब्याटिङका लागि आएका जर्ज बेलले ५६ रन बनाउँदा आठौँ नम्बरमा ब्याटिङका लागि आएका एलेक्स होर्टनले ५३ रनको अर्धशतकीय इनिङ खेल्दै टीमलाई मजबुत अवस्थामा पुर्‍याएका थिए। अफगानिस्तानका लागि नभिद जद्रान र नुर अहमेदले समान २-२ विकेट लिए ।

२३२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले संयमित प्रदर्शन गर्दै कडा चुनौती दिएपनि जित भने निकाल्न सकेन । उसका लागि अला नुरले सर्वाधिक ६० रन बनाए । त्यस्तै मोहम्मद यस्कले ४३ रन जो८दा अब्दुल हादि ३७ रनमा अविजित रहे। त्यस्तै विल अहमदले ३३ रन बनाउँदा नुर अहमेद २५ रनमा आउट भए । इंग्ल्यान्डका लागि रेहन अहमेदले ४ विकेट लिए ।

अफगानिस्तानलाई १८ बलमा २३ रन आवश्यक रहेको अवस्थामा रेहानले ४६ औ ओभरमा तीन विकेट लिँदै १ रनमात्र दिएर अफगानिस्तानको फाइनल सपनाको अन्त गरिदिएका थिए । जसका कारण अफगानिस्तान निर्धारित ४७ ओभरमा ९ विकेट गुमाएर २ सय १५ रन मात्र बनाउन सकेको थियो ।

इंग्ल्यान्डले २४ वर्षपछि यू-१९ विश्वकपको फाइनलमा स्थान बनाएको हो। यसअघि इंग्ल्यान्डले १९९८ को यू-१९ विश्वकपमा न्युजिल्यान्डलाई पराजित गर्दै उपाधि जितेको इंग्ल्यान्डले अब उपाधिका लागि भारत र अस्ट्रेलिया विचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्ने छ ।

प्रतिकृया दिनुहोस्