×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेस पाल्पा पनि विशेष महाधिवेशनको पक्षमा,महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन अपिल

कांग्रेस पाल्पा पनि विशेष महाधिवेशनको पक्षमा,महाधिवेशन प्रतिनिधिलाई  सहभागी हुन अपिल

काठमाडाैँ । नेपाली कांग्रेस पाल्पा पनि विशेष महाधिवेशनको पक्षमा उभिएको छ। जिल्ला सभापति हिमालदत्त श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् । जिल्ला सभापति हिमालदत्त फेसबुकमा लेख्छन्, पार्टीको नीतिगत दिशा, संगठनात्मक संरचना र भावी नेतृत्व निर्माण गर्ने यो ऐतिहासिक विशेष महाधिवेशनमा पाल्पा जिल्लाबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूको सक्रिय, जिम्मेवार र नेतृत्वदायी सहभागिता अत्यन्त आवश्यक रहेको छ । यद्यपि पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको “ऐतिहासिक दोस्रो विशेष महाधिवेशन”मा पाल्पाको गरिमामय उपस्थितिले यस महाधिवेशनलाई अझ अर्थपूर्ण, सशक्त र ऐतिहासिक बनाउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त रहँदै सक्रिय सहभागीताको लागि हार्दिक अपिल गर्दछौं । “नितिगत स्पष्टता, युवा सहभागिता र सांगठनिक सुदृढीकरण — हाम्रो संकल्प”

विज्ञप्तिमा भनिएको छ, आदरणीय पाल्पाली कांग्रेसका निष्ठावान् अग्रज तथा महाधिवेशन प्रतिनिधि साथीहरू, जय नेपाल 
विषयः ऐतिहासिक विशेष महाधिवेशनमा नीतिगत निर्णय र संकल्प प्रस्ताव सम्बन्धी विशेष अपिल ।
नेपाली कांग्रेसको विधान २०७८, नेपालको संविधान २०७२ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को लोकतान्त्रिक मर्म बमोजिम ५४।५८५ महाधिवेशन प्रतिनिधिहरूको विधिवत मागलाई सम्बोधन गर्दै २०८२ पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको “ऐतिहासिक दोस्रो विशेष महाधिवेशन” नेपाली कांग्रेसको भविष्य निर्धारण गर्ने निर्णायक मोड हो । विधि, पद्धति र आन्तरिक लोकतन्त्रलाई पुनर्जीवित गर्न पहल गर्ने श्रद्धेय महामन्त्रीद्वय सहित सम्बन्धित केन्द्रीय नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।

यो विशेष महाधिवेशन केवल औपचारिक जमघट नभई पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक सुदृढता र जनविश्वासको पुनःस्थापनातर्फ अघि बढाउने ऐतिहासिक अवसर हो । जनतामा बढ्दो राजनीतिक नैराश्यतालाई आशा र विश्वासमा रूपान्तरण गर्दै नेपाली कांग्रेसलाई समयसापेक्ष, युवा(मैत्री र जनमुखी बनाउने संकल्प यस महाधिवेशनको मूल उद्देश्य हो भन्ने हाम्रो बुझाइ छ । सर्वप्रथम गौरवशाली नेपाली कांग्रेस पार्टी भएकाले मात्र पार्टीको विधान बमोजिम पार्टी भित्र विशेष महाधिवेशनको अपिल गर्ने अवसर प्राप्त भएकाले पार्टी फुटाल्ने र फुट्‌ने जोखिम बाट हामी सचेत छौँ, हुनुपर्छ ।
यसै सन्दर्भमा, विशेष महाधिवेशनमार्फत निम्न महत्वपूर्ण नीतिगत संकल्प प्रस्तावहरू पेस गरी पारित गर्न हाम्रो प्रयास रहनेछ ।
१. चुनावी गठबन्धन नगर्ने स्पष्ट नीतिः
नेपाली कांग्रेसको आफ्‌नै विचार, संगठन र शक्तिमाथि विश्वास गर्दै आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने नीतिगत निर्णय गर्ने ।
२. निर्वाचन पश्चात् संविधान संशोधनको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नेः
संविधानको रक्षा गर्दै आवश्यक संशोधन र परिमार्जनका विषयहरू आगामी निर्वाचन सम्पन्न भएपछि जननिर्वाचित प्रतिनिधिमार्फत अघि बढाउने स्पष्ट कार्यदिशा तय गर्ने ।
३. नियमित महाधिवेशनको सुनिश्चितताः
पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन विधानले तोकेको समयमै नियमित महाधिवेशन अनिवार्य रूपमा हुने व्यवस्था सुनिश्चित गर्ने ।
४. मितव्ययी र विश्वासको राजनीतिः
जनतामा व्याप्त नैराश्यतालाई चिर्दै आगामी निर्वाचनमा शत्रुतापूर्ण व्यवहारलाई अन्त्य गर्दै मित्रवत प्रतिस्पर्धा र आर्थिक मितव्ययिता सहित निर्वाचनमा प्रतिस्पर्धाको संस्कार विकास गर्ने ।
५. जेन जी आन्दोलनको मर्म अनुसार युवा सहभागिताको सुनिश्चितताः
पार्टीलाई वर्तमान र भविष्यसँग जोड्न जेन(जी पुस्ताको भावना, सोच र ऊर्जालाई आत्मसात गर्दै नीति निर्माण, नेतृत्व विकास र निर्णय प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने ।
६. पार्टीको तहगत संरचनात्मक संगठन र नेतृत्व चयनमा सुधारः
पार्टी अधिवेशनमा वडा, पालिका, प्रदेश सभा र क्षेत्रस्तरमा प्रतिनिधि मुखी अधिवेशनको अभ्यास अन्त्य गर्दै, तहगत संरचनात्मक संगठनलाई सशक्त बनाउने । सोही अनुरूप तहगत संरचनाका पदाधिकारीहरू क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि र महासमितिहरूमध्येबाट छनोट हुने व्यवस्था र तहगत संरचनाको वार्षिक सिनेटर बैठक बस्ने व्यवस्था पार्टी विधानमै सुनिश्चित गरी नेतृत्व विकासमा प्रेरणा र संस्थागत स्थायित्व प्रदान गर्ने ।
पार्टीको नीतिगत दिशा, संगठनात्मक संरचना र भावी नेतृत्व निर्माण गर्ने यो ऐतिहासिक विशेष महाधिवेशनमा पाल्पा जिल्लाबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूको सक्रिय, जिम्मेवार र नेतृत्वदायी सहभागिता अत्यन्त आवश्यक रहेको छ । यद्यपि पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको “ऐतिहासिक दोस्रो विशेष महाधिवेशन” मा पाल्पाको गरिमामय उपस्थितिले यस महाधिवेशनलाई अझ अर्थपूर्ण, सशक्त र ऐतिहासिक बनाउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त रहँदै सक्रिय सहभागीताको लागि हार्दिक अपिल गर्दछौं ।
“नितिगत स्पष्टता, युवा सहभागिता र सांगठनिक सुदृढीकरण हाम्रो संकल्प” जय नेपाल १

हिमाल दत्त श्रेष्ठ सभापति

 

प्रतिकृया दिनुहोस्