काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले बताएको छ । विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार ३० अर्ब रुपैयाँ बराबरको लगानीमा १ सय २२ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । विभिन्न छ वटा शीर्षक अन्तर्गत उक्त उद्योग दर्ता भएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिएका छन् ।
जसमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा ३५ उद्योगमा मात्रै १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै, कृषि तथा वन पैदावारमा आधारित उद्योगमा चीनबाट चार वटा लगानी प्रतिबद्धता आएको छ । प्रति उद्योगमा रु १५ करोडका दरले चार उद्योगमा रु साठी करोड लगानी प्रतिबद्धता आएको तथ्याङ्कमा उल्लेख छ ।