विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश’ नामाकरण कसैको विपक्षमा नभएको दावी गरेका छन् । शुक्रबार नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार इकाईको १३औं कार्य समितिको वार्षिक साधारणसभा तथा बार भवनको उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् ।
उनले भने, ‘नामाकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला, त्यो नभएर साझा भएको छ, यसलाई सबैले आत्मसाथ गरेर जाउँ । समयक्रम र भविष्यमा जनताको दुईतिहाई मत प्राप्त भएमा संवैधानिक एवं कानूनी प्रक्रियाबाट प्रदेशको नाम परिवर्तन गरेर जान सकिने छ ।’
उनले प्रदेशसभाको अघिल्लो कार्यकालमा प्रदेशको नामकरण नगर्दा सर्वत्र आलोचना खेप्नुपरेको दृष्टान्त प्रस्तुत गर्दै यस पटकको प्रदेशसभाको प्रारम्भमै नामकरण गरेको प्रस्ट पारे । मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरणमा प्रदेशसभाकै भूमिका बढी हुने र सरकारको कुनै भूमिका नहुने पनि बताए ।
उनले वर्तमान नेपालको राजनीति र न्याय क्षेत्रको अवस्था राम्रो नदेखिएको चर्चा गर्दै विगत १६÷१७ महिनादेखि प्रधानन्यायधीश नियुक्ति हुन नसक्नु दुखद भएको बताए ।
प्रदेश संरचना अनावश्यक, अत्याधिक खर्चालुलगायतमा आलोचना तथ्य र सत्यका आधारमा हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले विगत १५ बर्षमा नभएका विकास प्रदेश सरकार निर्माण भएपछि जनताले अनुभूति प्राप्त गरेको दावी गरे ।
विगत पाँच बर्षको अवधिमा प्रदेश सरकारले ८०० किलोमिटर कालोपत्र सडक, १०० पक्की पुल, २०० झोलुङ्गे पुल र २०० भौतिक संचरना निर्माण गरेको उनले जानकारी दिए । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गरेका गल्तीको आलोचनालाई ग्रहण गर्दै आगामी दिनमा सुधार गर्ने प्रण गर्दै राम्रो कार्यको प्रशंसा गर्न समेत आग्रह गरे ।