×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गठबन्धनले दलप्रति वितृष्णा फैलियो : ओली

गठबन्धनले दलप्रति वितृष्णा फैलियो : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा बनेको सरकारले राजनीतिमा जालझेल र तिकडम गर्दा राजनीतिक दलहरूप्रति नै वितृष्ण फैलाउने काम गरेको आरोप लगाएका छन्।

सोमबार सम्पादकहरूसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले परमादेशी सरकार बनेको एक वर्षको अवधिमा सरकारले कुनै पनि राम्रो काम गर्न नसकेका कारण दलहरूप्रति नै वितृष्णा जाग्न थालेको बताएका हुन्।

उनले लोकतन्त्र प्रतिस्पर्धाको प्रणाली हुनुपर्ने भन्दै राजनीतिमा जालझेल र तिकडम हुँदा जनताले कष्ट बेहोर्नुपर्ने, विद्यार्थीले विदेशीनुपर्ने, उद्योगहरू बन्द हुने, स्वास्थ्य क्षेत्रको बिमा बन्द हुने र महँगीको मारले जनताको ढाड भाँचिने बताए।

‘यस्तो अवस्थामा यस्ता कामहरूबाट जनतालाई दलहरूप्रतिको वितृष्णा, सरकार राज्यप्रतिको वितृष्णा, राज्यप्रतिको न्यूनताको स्थिति कसले बनाएको छ भन्ने कुरा बुझ्न सकिन्छ’, ओलीले भने, ‘यो अहिलेको गठबन्धनले बनाएको छ, गठबन्धन सम्बद्ध दलहरूले बनाएका छन्।’

यो अवस्था आउनुमा धेरथोर आफ्नो पनि कमजोरी रहेको र पार्टी एकता जोगाउन नसकेको ओलीले बताए। तर यस्ता कुराहरूले राजनीतिक दलहरूको महत्त्व, औचित्य, सान्दर्भिकता र अपरिहार्यतामा न्यूनता नआउने बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले चुनावी गठबन्धनका विषयमा हतारमा निर्णय नगर्ने बताएका छन् । गठबन्धन बनाएर सत्तामा पुग्नुलाई नै एमालेले सर्वोपरि नठान्ने उनको भनाइ थियो।

ओलीले एमालेको मुख्य एजेन्डा देशमा सुशासन ल्याउने र लोकतान्त्रिक अभ्यासतिर फर्किने रहेको उल्लेख गरे। उनले भने, ‘मैले गठबन्धन चलाएर हेरेको छु। गठबन्धनका लागि गठबन्धन बनाउने पक्षमा छैन। परिस्थितिमा परिवर्तन मुख्य कुरा हो।’ ओलीले पटक-पटक विवाह र डिभोर्स हुने प्रवृत्ति समाजमा देखिएको भन्दै यसलाई गठबन्धन निर्माणसँग तुलना गरे। उनले भने, ‘किन पटकपटक विवाह र डिभोर्स हुन्छ? किनकि त्यो विवाह साँचो थिएन। डिभोर्स साँचो थियो। एमालेले साँचो डिभोर्सका लागि नक्कली बिहे गर्न हतार गर्दैन।’

प्रतिकृया दिनुहोस्