×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओलीले गरे प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव

ओलीले गरे प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव

काठमाडाैँ- नयाँ सरकार गठनको ‘काउन्ट डाउन’सुरु भएसँगै भावी प्रधानमन्त्रीको लागि राजनीतिक दलहरूबीच रस्साकस्सी थप चुलिएको छ । भावी सरकार पनि गठबन्धनकै बनाउने निर्णयमा पुगे पनि सत्ता गठबन्धनमा नेतृत्वबारे मतभेद छ । गठबन्धनमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन् ।

नेतृत्वबारे मतभेद कायमै रहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रस्ताव गर्नुभएको छ । 

शनिबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका अध्यक्ष प्रचण्डले गठबन्धनबाट पहिलो चरणमा प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएको स्रोतले जानकारी दिएको छ । अध्यक्ष प्रचण्डले गठबन्धनकै सहयोगमा प्रधानमन्त्री भएर निर्वाचन सम्पन्न गराएको र गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको भन्दै अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि आफूलाई प्रस्ताव गर्न आग्रह गर्नुभएको हो । जवाफमा देउवाले गठबन्धनमा छलफल गरेर अघि बढ्ने तर, संसदीय दलको निर्वाचनसम्म पर्खिन आग्रह गर्नुभएको बताइएको छ ।

यसअघि प्रचण्डले विभिन्न औपचारिक मञ्चहरूमा प्रधानमन्त्रीमा दाबी गर्दै आए पनि शनिबार देउवासँगको भेटमा भने औपचारिक प्रस्ताव नै राख्नुभएको छ । कांग्रेस भित्रबाट देउवालाई नेतृत्व नछाड्न तीव्र दबाब भए पनि प्रचण्डले आफूसँग ६० सांसदको कमाण्ड रहेको दाबी गर्दै आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने बताउँदै आउनुभएको छ । प्रधानमन्त्री देउवा भने भावी सरकारको नेतृत्वको लागि आफँै गृहकार्य गरिरहनु भएको छ । औपचारिक रूपमा सरकारको नेतृत्वमा निरन्तरता दिने विषयमा धारणा नराखे पनि देउवाका औपचारिक तथा अनौपचारिक गतिविधि त्यसतर्फ लक्षित छन् ।

आन्तरिक छलफललाई तीव्रता
अध्यक्ष प्रचण्डले आन्तरिक छलफललाई पनि तीव्रता दिनुभएको छ । शनिबार प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार जानुअघि प्रचण्डले पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग छलफल गर्नुभएको थियो । खुमलटारस्थित प्रचण्ड निवासमा दुई शीर्ष नेताबीच सत्ता समीकरण र भावी रणनीतिका बारेमा छलफल भएको बताइएको छ । प्रचण्ड र श्रेष्ठ बीचको भेटमा माओवादी केन्द्रलाई लाभ हुने गरी सत्ता समीकरण निर्माण गर्नुपर्ने विषयमा एकमत देखिएको छ । पहिलो प्राथमिकता सत्ता गठबन्धनलाई नै दिने तर कांग्रेस सहमतिमा नआएको खण्डमा एमालेलाई साथ लिएर अगाडि बढ्ने विषयमा दुई नेता सहमत रहेको स्रोतको दाबी छ ।

ओलीद्वारा प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव
सत्ता गठबन्धनमा भावी सरकारको नेतृत्व बारेको विवादलाई ‘क्यास’ गरेर नेकपा एमाले गठबन्धन फुटाउने रणनीतिमा लागेको छ । गठबन्धनमा माओवादी केन्द्रले पहिलो चरणमा प्रधानमन्त्री आफूले पाउनुपर्ने दाबी गरिरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विश्वास पात्रमार्फत प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको छ । प्राकृतिक गठबन्धन बनाउनुपर्ने भन्दै एमालेले वाम शक्ति एक ठाउँमा उभिनुपर्ने तर्क गरिरहेको छ । त्यसो हुँदा आफूले राष्ट्रपति लिएर प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन सकिने प्रस्ताव ओलीको छ । तर, प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा विश्वस्त नभएपछि त्यसको कुनै निष्कर्ष निस्किएको छैन ।

यदि पहिले प्रचण्डलाई प्रधानमन्त्री दिन शेरबहादुर देउवा सहमत भए उहाँ एमालेतिर नजाने धेरैको अनुमान छ । केही सातायता नेकपा एमालेका उच्च तहका नेताहरू नयाँ गठबन्धन सरकार बनाउने उद्देश्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग निरन्तर संवाद गरिरहेका छन् । ओलीको प्रस्तावमा प्रचण्डलाई विश्वास दिलाउन एमालेका उपाध्यक्षद्वय विष्णु पौडेल, सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठसमेत खुमलटार पुगिसक्नु भएको छ ।

त्यसो त कुनै दलको एकल बहुमत नपुगेको र गठबन्धनमा समेत सहमति जुट्न कठिन भइरहेको बेला नेकपा एमालेको सहयोगमा आफ्नो नेतृत्वको सरकार बनाउने कांग्रेस र माओवादी केन्द्रले छुट्टाछुट्टै पहलसमेत जारी राखेका छन् । एक-अर्काबाट आफूलाई सहयोग हुन नसक्ने अवस्था आएमा ७८ सिटको एमालेसँग मिलेर सरकार बनाउन सक्ने विकल्प दुवै दलले खुला राखेका छन् ।

देउवाद्वारा नवनिर्वाचित सांसदको भेला
प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छैटौँपटक मुलुकको प्रधानमन्त्री बन्न पहल थाल्नुभएको छ । कांग्रेसबाट नवनिर्वाचित सांसदहरूलाई शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेला गरेर देउवाले प्रधानमन्त्री बन्न पहल थाल्नुभएको हो । सांसदहरूको भेलापछि भेलामा सहभागी नवनिर्वाचित सांसद डा.शेखर कोइरालाले कांग्रेस संसदीय दलमा को लड्ने ? भन्ने नितान्त कांग्रेस भित्रको कुरा भएको बताउनुभएको छ । देउवानिकट नवनिर्वाचित सांसद एनपी साउदले देउवा नेतृत्वमा गठबन्धनले बहुमत पाएकाले कांग्रेस नेतृत्वमा सरकार अहिलेको जनादेश भएको दाबी गर्नुभयो । पार्टी प्रवक्तासमेत रहनुभएका सांसद डा. प्रकाशशरण महतले पनि स्वाभाविक रूपमा कांग्रेस ठूलो दल बनेकाले कांग्रेसको प्रधानमन्त्री बन्ने दाबी गर्नुभयो ।

जनतासँग गरेका वाचा पूरा गर्न देउवाको आग्रह
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सबै सदस्यहरूलाई बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार कांग्रेसबाट निर्वाचित सांसदहरूको भेला राखेर बधाई दिनुभएका देउवाले प्रतिनिधिसभामा सक्रिय भूमिका निभाउन र जनतासँग गरेका वाचा पूरा गर्ने गरी काम गर्न निर्देशन दिँदै भन्नुभयो, ‘तपाईंहरू सबै प्रतिनिधिसभाको सदस्य बन्नुभएको छ र तपाईंहरूले जित्दै गर्दा नेपाली कांग्रेस पनि ठूलो दल बनेको छ, तपाईंहरू सबैलाई बधाई छ ।’ भेलामा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित ५७ र समानुपातिकबाट निर्वाचित ३२ सांसदहरू सहभागी थिए । सभापति देउवाले सबै सांसदहरूलाई फूलमाला र खादा ओढाएर बधाई दिनुभएको हो । भेलामा सांसदहरूबीच पनि बधाई आदानप्रदान भएको थियो ।

देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने कांग्रेस नेताहरूको दाबी
नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधि लगायतका प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वाभाविक हुने तर्क गर्नुभयो ।

शनिबार प्रधानमन्त्री देउवाले आयोजना गर्नुभएको सांसदहरूको भेलामा सहभागी हुनुभएका कांग्रेस प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीमा इच्छा व्यक्त गर्नुभए पनि सरकारको नेतृत्व कांग्रेसले नै गर्नु स्वाभाविक हुने प्रतिक्रिया दिनुभयो । उहाँले सञ्चारकर्मीमाझ आफ्नै पार्टी नेतृत्वको सरकारलाई देशले र जनताले स्वाभाविक रूपमा लिने धारणा राख्नुभयो ।

प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्नेमा कांग्रेस नेता विमलेन्द्र निधि पनि ढुक्क हुनुहुन्छ । उहाँले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको औँल्याउँदै सोही बाटोमा मुलुक अघि बढ्ने बताउनुभयो । नेता निधिले भन्नुभयो, ‘नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ । र, हाम्रो चाहना पनि हो । र, अहिलेसम्मको परिस्थितिजन्य निष्कर्ष पनि हो । प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्छ भन्ने हाम्रो ठम्याई हो ।’ कांग्रेस नेताहरूले पार्टी संसदीय दलको नेता चयनमा सर्वसम्मतिको प्रयास हुने र त्यो सम्भव नभए पनि देउवा नै निर्वाचित हुने दाबीसमेत गरेका थिए । नेता निधिले आफू संसदीय दलको निर्वाचन भए देउवाको पक्षमा उभिनेसमेत प्रष्टयाउनुभयो । –हिमालय टाइम्सबाट

प्रतिकृया दिनुहोस्