काठमाडौ - राष्ट्रपति रामचन्द्र पौडेलले इद–उल–अजहा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
मुस्लिम समुदायको महान् पर्व इद–उल–अजहा (बकर इद) को अवसरमा शुभकामना व्यक्त गर्दै इस्लाम धर्मावलम्बीले मनाउने यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने बताए।
‘यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन हुनुका साथै जातीय, धार्मिक एवं साँस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुनेछ’, उनले भनेका छन्, ‘हाम्रो विविधताबीचको एकताले नै राष्ट्रियता र राष्ट्रिय एकताको भावनालाई प्रगाढ बनाउन योगदान गर्नेछ भन्ने मेरो विश्वास छ।’
राष्ट्रपति पौडेलले इद–उल–अज्हा (बकर इद) पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।