×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय बाह्रबिसेको हिरासतमा रहेका खड्गबहादुर तामाङको मृत्यु भएको छ । चोरीको आरोपमा साउन १९ गते पक्राउ परेका उनको धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

शुक्रबार बिहान २ बजे हिरासतमै अचेत भएर ढलेको अवस्थामा भेटिएपछि उनलाई तत्काल बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएको र त्यहाँबाट धुलिखेल अस्पताल रेफर गरेकोमा बिहानै उनको मृत्यको खबर आएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्र शाहले मकालुखबरलाई जानकारी दिए ।

उनलाई मदिरा नभई नहुने समस्या रहेको र हिरासतमा हुँदा उनले आत्महत्याको प्रयास गरेको समेत सीसीटीभी फुटेजमा देखिएको शाहले बताए । उनले भने, ‘उनले आफूले चोरी गरेको स्विकारिसकेका थिए । तर उनलाई अल्कोहल नभई नहुने रहेछ, थुनामा उनीसँगै रहेका अरु पाँच जनालाई पनि अल्कोहल ल्याइदिनू भन्दा रहेछन् । सीसी क्यामेराको फुटेजमा उनले भित्तामा हानेको, टाउको ठोकेको स्पष्ट रुपमा देखिएको छ । उनले एक पटक शौचालयमा आत्महत्याको प्रयास पनि गरेका थिए ।’

उनले चिच्याउने, कराउनेजस्तो व्यवहार देखाएर केही मानसिक समस्या छ कि भनेर परिवारका सदस्य बोलाएर सोधपुछ गरिएको र डाक्टरसँग पनि सल्लाह गरेको तर उनको व्यवहारमा कुनै परिवर्तन नआएको निरीक्षक शाहले बताए ।

प्रहरी निरीक्षक शाहले पोस्टमार्टमको रिपोर्ट आउन बाँकी नै रहेको बताए ।

मृतकका आफन्तले भने प्रहरीले कुटपिट गरेको आरोप लगाएका छन् । तर हिरासतमा अपराध स्वीकारिसकेको व्यक्तिलाई प्रहरीले कुनै शारीरिक वा मानसिक यातना दिन नपाउने शाहले बताए । त्यसबारे प्रहरीसँग पर्याप्त प्रमाण र खड्गसँगै थुनामा रहेका अरू प्रत्यक्षदर्शीहरूसमेत रहेको प्रहरी निरीक्षक शाहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्