म्यान्मारको नेतृत्वमा रहेका सैन्य नेताहरूले चार प्रजातन्त्रवादी अभियानकर्मीलाई “आतङ्ककारी गतिविधि”को आरोप लगाउँदै मृत्युदण्ड दिएको छ । संयुक्त राष्ट्रसङ्घले ती मृत्युदण्डहरू खराब मनसायबाट प्रेरित भन्दै त्यसको निन्दा गरेको छ । सन् २०२१ मा सत्ता हत्याएपछि विपक्षीहरूलाई दबाउनमा त्यहाँको सत्ताले चालेको यो पछिल्लो उपाय हो ।
देशलाई कसले चलाइरहेका छन् ?
जेनरल मिन ओङ ह्लाइङ सेनाका प्रमुख हुन् । उनी र जुन्ता भनिने सैनिक नेताहरूको समूहले निर्वाचित नागरिक सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिएका थिए । उनले आपत्काल घोषणा गर्दै भविष्यमा “स्वतन्त्र र निष्पक्ष” चुनावको वाचा गरेका थिए । त्यसयता जेनरल ह्लाइङले सेनाले गरेको भनिएको मानव अधिकारको दमन र जातीय अल्पसङ्ख्यकप्रति हमलाका लागि भन्दै अन्तर्राष्ट्रिय निन्दा र आर्थिक प्रतिबन्धहरू खेपिरहेका छन् ।
द असिस्टेन्ट अफ पोलिटिकल प्रीजनर्स एएपीपी भनिने एउटा मानव अधिकार समूहले सैन्य सत्ताको सुरक्षा फौजले कूयता २,१०० भन्दा धेरैको हत्या गरेको जनाएको छ ।
जुन्ताले आङ सान सू चीमाथि पनि कैयौँ आरोप लगाएर मुद्दा दायर गरेको छ ।
मृत्युदण्ड दिइएका को–को हुन् ?
गोप्य सुनुवाइपछि चार पुरुष अभियानकर्मीलाई मृत्युदण्ड दिइएको थियो । उनीहरूलाई म्यान्मारको सेनासँग लड्न विद्रोहीहरूलाई सघाएको आरोप लगाइएको छ । मृत्युदण्ड पाउनेमध्ये प्रजातन्त्र अभियानकर्मी को जिम्मी र पूर्वसांसद तथा हिपहप कलाकार फ्यो जेया थअ छन् ।
एमनेस्टी इन्टर्न्याश्नलले त्यसलाई “म्यान्मारको बर्बर मानवअधिकार अवस्थाको अर्को उदाहरण” बताएको छ ।
उक्त संस्थाले त्यस्तै प्रकृतिको आरोप खेपेका अन्य १०० मानिसहरू समेत त्यहाँ मृत्युदण्ड पर्खिरहेको जनाएको छ ।
अरूलाई के भइरहेको छ ?
गत वर्षको कूपछि विपक्षी अभियानकर्मीहरूले नागरिक अवज्ञाका लागि अभियान सीडीएम गठन गर्दै ठूला प्रदर्शन र हडताल गर्दै आएका छन् । सेनाले त्यसमा गोली, पानीका फोहोरा र रबरका गोली हान्ने गरेको छ ।
आफूलाई पिपल्स डिभेन्स फोर्स पीडीएफ बताउने स्थानीय लडाकुहरूले सैनिक गाडीका लस्करमा हमला र अधिकारीहरूको हत्या गर्ने गरेका छन् । सरकारले हिंसक रूपमा प्रतिशोध साँध्ने गरेको छ । सगाईँ जिल्लामा ४० जना सर्वसाधारणलाई यातना र हत्या गरिएको थियो ।
आङ सान सू चीलाई किन जेल हालिएको छ ?
सू ची प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको सन् १९९० को दशकको अभियानका कारण विश्वभर प्रसिद्धि कमाएकी थिइन् । उनलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । सन् २०१५ मा न्याश्नल लीग फर डेमोक्रेसीको नेतृत्व गर्दै उनले म्यान्मारमा २५ वर्षपछि खुला रूपमा भएको पहिलो निर्वाचनमा उक्त दललाई जिताएकी थिइन् । यद्यपि सैन्य सत्ताले सन् २०२१ को फेब्रुअरीमा सत्ताच्युत गर्दै उनलाई घरमै नजरबन्दमा राखेको थियो ।
जेनरलहरूले विपक्षी दललाई सघाएका थिए जसले व्यापक धाँधली भएको भन्दै पुनर्निर्वाचनको माग गरेको थियो । यद्यपि निर्वाचन आयोगले त्यस्ता दाबीलाई सघाउने कुनै प्रमाण नभएको जनाएको थियो । सन् २०२२ को एप्रिलमा ७६ वर्षीय सू चीलाई एउटा गोप्य सुनुवाइमाझ पाँच वर्षको जेल सजाय सुनाइयो । उनले देशको गोप्य सरकारी सूचना चुहाएको, गैरकानुनी रूपमा वाकीटकी राखेको र ’त्रास फैलाउने गरी’ सूचना प्रकाशित गरेको भन्दै छ वर्षको सजाय पाइसकेकी थिइन् । उनले अझै अन्य १० भ्रष्टाचारसम्बन्धी अभियोगहरू सामना गरिरहेकी छन् जुन प्रत्येकमा अधिकतम १५ वर्षको जेल सजाय हुनसक्छ ।