काठमाडौं - सुनसरी लगायतका जिल्लामा विकसित पछिल्ला घटनाहरूलाई लिएर धर्म र सम्प्रदायबिचको सुसम्बन्धमा खलल पार्ने, हिंसा तथा त्रास फैलाउने सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमहरूमाथि प्रेस काउन्सिल नेपालले कडा कारबाही सुरु गरेको छ। स्वअनुगमनका क्रममा पत्रकार आचारसंहिता विपरीतका सामग्री प्रवाह गरेको पाइएपछि ११ वटा मिडिया र सामाजिक सञ्जालका पानाहरूलाई कारबाहीको दायरामा ल्याइएको हो।
काउन्सिलको अनुगमन महाशाखाका अनुसार आपत्तिजनक सामग्री पहिचान गरी तत्काल हटाउन दिइएको निर्देशन पालना गर्दै १० वटा मिडियाले सामग्री हटाएका छन् भने 'HTPKHABAR' ले निर्देशन अस्वीकार गरेको छ। यस्तै, दर्ता नभएका दुईवटा सामाजिक सञ्जाल र काउन्सिलको निर्देशन अटेर गर्ने 'nepaltrantra' नामक अकाउन्टका सामग्रीहरूमाथि आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ।