काठमाडौं - मानव सहनशीलता, अद्भूत आँट र दृढ इच्छाशक्तिका पर्याय बनेका पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी हामी माझ रहनु भएन। विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल मात्र ६ महिना ६ दिनमा आरोहण गरेर सम्पूर्ण विश्वलाई स्तब्ध र प्रेरित बनाएका यी साहसी योद्धा अब हाम्रामाझ भौतिक रूपमा रहेनन्। एलिट एक्स्पेडले पुष्टि गरेअनुसार, ब्रड पिकको उकालोमा आएको हिउँको आँधीले निम्स दाइसँगै उनका सपना र सहयात्रीहरूलाई सदाका लागि हिमालको काखमै लीन गरायो। आफ्नो मातृभूमि नेपालको नाम संसारभर उँचो बनाउने एक महान् नायकको यो अकल्पनीय बिदाइले सम्पूर्ण पर्वतारोहण जगत् र मानव हृदयलाई गहिरो शोकमा डुबाएको छ।
निम्स दाइ केवल एक आरोही मात्र थिएनन्, उनी त 'सकारात्मक सोच र दृढ संकल्प भए संसारमा केही पनि असम्भव छैन' भन्ने भावनाका जीवन्त प्रतीक थिए। बेलायती गोर्खा सैनिक र प्रतिष्ठित रोयल नेभी (SBS) मा १५ वर्षभन्दा बढी समय सेवा गर्दै आफूलाई कडा चुनौतीहरूमा ढालेका उनले हिमाल चढ्नका लागि आफ्नो सुरक्षित जागिर, पेन्सन र घरसम्म बेचिदिएका थिए। संसारले जिस्क्याउँदा पनि हरेश नखाई 'प्रोजेक्ट पसिबल' मार्फत उनले इतिहास रचे। ८,००० मिटरभन्दा माथिको मृत्यु-क्षेत्रमा आफ्ना आरोहण अभियान नै जोखिममा राखेर अलपत्र परेका अन्य आरोहीहरूको ज्यान बचाउनुले उनको साहसी हृदयको परिचय दिन्थ्यो। Netlfix को '14 Peaks: Nothing is Impossible' मार्फत उनले नेपाली र शेर्पा पर्वतारोहीको नामलाई विश्वको सर्वोच्च स्थानमा पुर्याए।
म्याग्दीको विकट गाउँमा जन्मिएर विश्व शिखर जित्ने निम्स दाइले भावी पुस्तालाई 'सपना देख्न र त्यसका लागि सर्वस्व दिन' सिकाएर गएका छन्। आफ्नो जीवनका हरेक मोडमा आएका विवाद र आँधीबेहरीलाई पन्छाउँदै उनी सधैँ अगाडि बढे। मानिसहरूलाई हिमाल चढ्न मात्र होइन, जीवनका हरेक चुनौतीलाई हाँसी-हाँसी सामना गर्न प्रेरित गर्ने उनको त्यो मुस्कान र आत्मविश्वास अब कथा बनेको छ। हिमालकै काखबाट सुरु भएको उनको यात्रा हिमालकै अनन्त काखमा पुगेर पूर्ण विराम लिएको छ। शरीर छाडेर गए पनि निम्स दाइले जगाएको त्यो 'अदम्य साहसको ज्योति' र 'नथिङ इज इम्पसिबल' को सन्देश हिमाली हावासँगै युगौँसम्म अमर रहनेछ। अलविदा, निम्स दाइ!