×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अन्तरिम सरकारका मन्त्रीहरूको सपथ आज

अन्तरिम सरकारका मन्त्रीहरूको सपथ आज

काठमाडौं ।  सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको शपथ ग्रहण समारोह आज (सोमबार) बिहान ११:३० बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले यसको पुष्टि गरेको छ।

हालसम्म तीन जना मन्त्रीको नाम टुंगो लागेको छ। अधिवक्ता ओमप्रकाश अर्याललाई गृह तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ भने पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। यसअघि नै ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम तय भइसकेको छ।

अधिवक्ता अर्याल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि चर्चामा आएका थिए। उनले जनहितका विभिन्न मुद्दामा कानूनी लडाइँ लड्दै आएका छन् र हाल काठमाडौं महानगरपालिकाका कानूनी सल्लाहकार पनि हुन्। सुशीला कार्कीको अन्तरिम सरकार गठनका क्रममा राष्ट्रपति पौडेलसँगको छलफलमा पनि उनको सक्रिय सहभागिता थियो।

अर्थमन्त्रीको जिम्मेवारी पाएका रामेश्वर खनाल पूर्वअर्थसचिव हुन्। उनले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव तथा सिफारिस आयोगको अध्यक्षका रूपमा तत्कालीन केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए। उक्त प्रतिवेदनमा नेपालको अर्थतन्त्रका कमजोरीहरू, समस्याका कारणहरू, तत्काल गरिनुपर्ने उपायहरू र दीर्घकालीन समाधानका बारेमा ठोस सुझावहरू प्रस्तुत गरिएका थिए।

ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्। उनको कुशल व्यवस्थापकीय क्षमताका कारण नेपाललाई लोडसेडिङमुक्त गराएको भन्दै उनी आमजनतामाझ लोकप्रिय छन्। केही महिनाअघि तत्कालीन केपी ओली सरकारले उनलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

प्रतिकृया दिनुहोस्