×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको प्रभावशाली जित

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको प्रभावशाली जित

एजेन्सी - कप्तान लियोनल मेस्सीले ह्याट्रिक पुरा गर्दा अर्जेन्टिनाले बोलिभिया बिरुद्द प्रभावशाली जित निकालेको छ भने  दक्षिण अमेरिकी विश्वकप छनोटमा आफ्नो अपराजित यात्राको दबदबा कायमै राखेको छ।

ब्युनर्स आयर्समा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ३–० को सहज जित हात पारेको हो । कप्तान मेस्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरे ।

खेलको सुरुवातदेखि नै आक्रामक खेल पस्किएको अर्जेन्टिनाले १४औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट अग्रता लिएको थियो । उनले लियान्द्रो ड्यानियल पारेडेसको पासमा २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्न सफल भएका थिए ।

२७औं मिनेटमा एन्जल डि मारियाको पासमा लोउटारो मार्टिनेजले गोल गरेपनि गोलले मान्यता नपाउँदा अर्जेन्टिना अग्रता दोब्बर पार्नबाट चुक्यो । ४१औं मिनेटमा मेस्सीको पासमा मार्टिनेजले ८ यार्ड टाढाबाट गरेको प्रहार बाहिरियो । ४३औ मिनेटमा मेस्सीको सुवर्ण अवसर खेर फाल्दा अर्जेन्टिनाले अग्रता दोब्बर पार्न सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेस्सीको पासमा एन्जल डि मारियाको प्रहारलाई बोलभियाका गोलरक्षक कार्लाेस लाम्पेले लोउटारो मार्टिनेजले भेट्न नपाउँदै बाचाए । ६४औं मिनेटमा कप्तान मेस्सीले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । उनले मार्टिनेजसँगको वान टु वान पासमा उत्कृष्ट फिनिसिङको नमुना पेश गरेका थिए ।

एजेन्सीको सहयोगमा

७०औं मिनेटमा मार्टिनेजले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । ८३औं मिनेटमा निकोलस गोन्जालेजले अर्काे अवसर सदुपयोग गर्न सकेनन् । ८९औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए । अर्जेन्टिनाबाट १५३ खेलमा उनको यो ७९औं गोल हो ।

यो जितसँगै दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको अर्जेन्टिनाको ८ खेलबाट १८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले ५ जित र ३ बराबरीको नतिजा निकालेको छ । पराजित बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यस्तै कोलम्वियाले घरेलु मैदानमा चिलीलाई ३–१ ले पराजित गरेको छ । कोलम्वियाको जितमा मिगुइल बोर्जाले दुई तथा लुइस डियाजले एक गोल गरे । चिलीका जिन मेनेसेसले एक गोल फर्काए । यो जितसँगै कोलम्विया ९ खेलबाट १३ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ । पराजित चिली ७ अंकसहित आठौं स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा उरुग्वेले इक्वेडरलाई १–० ले पराजित गरेको छ । उरुग्वेको जितमा गास्टन पेरेइरोले खेलको अन्तिम समयमा विजयी गोल गरे । यो जितपछि उरुग्वे ९ खेलबाट १५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित इक्वेडर १३ अंक जोडेर चौथौ स्थनमा झरेको छ ।

यस्तै अर्काे खेलमा पाराग्वेले भेनेजुएलालाई २–१ ले पराजित गरेको छ । पाराग्वेको जितमा हेक्टर मार्टिनेज र एलेसान्द्रो रोमेरोले गोल गर्दा भेनजुएलाका जोन चान्सेलरएल गोल फर्काए । यो नतिजापछि पाराग्वेको ९ खेलबाट ११ अंक पुगेको छ । भेनेजुएला ४ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिकृया दिनुहोस्