×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पहिलो खेलमा घरेलु टोली नेपाल यूएईसँग पराजित

पहिलो खेलमा घरेलु टोली नेपाल यूएईसँग पराजित

काठमाडौं - नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको प्रतिष्पर्धामा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो।

वर्षाका कारण प्रभावित भएपछि खेलको निर्णय 'डिएलएस' (DLS) पद्धतिबाट लिइएको थियो। वर्षाले खेल रोकिएपछि यूएईले १० ओभरमा ७८ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो, जसलाई उसले ८.५ ओभरमा ४ विकेट गुमाउँदै ७ बल बाँकी छँदै पूरा गर्‍यो। यूएईको जितमा कप्तान मोहम्मद वासिमले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ३३ रन जोडे भने अलीशान शराफूले १८ रनको योगदान दिए। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै ३ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्। कुशल मल्लले एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो। नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ रन र सन्दीप लामिछानेले २ रन बनाई अविजित रहेका थिए। अन्य ब्याटरहरूमा कुशल मल्लले १७, कुशल भुर्तेलले १६, बसिर अहमदले १४, अर्जुन साउदले १३ र नन्दन यादवले १३ रन जोडेका थिए।

यूएईका बलर मुहम्मद जुहेबले ३ विकेट लिए भने जुनैद सिद्दिकीले २, साएद हैदर र मुहम्मद अरफानले समान १–१ विकेट लिए। नेपाल र यूएईबीचको दोस्रो तथा अन्तिम टी–२० खेल मंगलबार हुने तालिका रहेको छ।

प्रतिकृया दिनुहोस्