काठमाडौं - राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमध्ये १८ पदमा पाँच दल आबद्ध सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित बनेका छन् । १९ पदका लागि सातै प्रदेशमा बुधबार राष्ट्रिय सभा सदस्य चुन्न मतदान भएको थियो । जसमध्ये एक सिट मात्रै नेकपा एमालेको पोल्टामा गएको हो ।
निर्वाचन आयोगका अनुसार प्रदेश एकमा तीन सदस्य चुन्न भएको निर्वाचनमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका एक÷एक जना तथा प्रमुख प्रतिपक्षी एमालेका एक जना उम्मेदवार निर्वाचित भएका हुन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रदेश १ मा कांग्रेसका गोपाल बस्नेत तथा नेकपा एसकी जयन्ती राई गठबन्धनका तर्फबाट विजयी बन्दा एमालेका सोनम ग्याल्जेन शेर्पाले भने जसपाका उम्मेदवार हेमराज राईलाई पराजित गर्दै विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी, मधेस प्रदेशमा सत्तारूढ गठबन्धनका मोहम्मद खालिद सिद्दिकी र उर्मिला अर्याल विजयी भएका छन् । सिद्दिकी जसपाका हुन् भने अर्याल माओवादी केन्द्रबाट उम्मेदवार थिइन् ।
यसैगरी, बाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् । पौडेल कांग्रेस मुख्यसचिवसमेत हुन् ।
यस्तै, गण्डकी प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । कांग्रेसकी कमला पन्त, माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन् ।
यसैगरी, लुम्बिनी प्रदेशमा कांग्रेसका युवराज शर्मा, नेकपा एसकी राजेन्द्रलक्ष्मी गैरे र जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भए ।
सुदूरपश्चिममा पनि गठबन्धनका उम्मेदवार विजयी भए । सुदूरपश्चिमबाट नेकपा एसकी मदनकुमारी शाह (गरिमा), माओवादी केन्द्रका जगत् पार्की र कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भएका हुन् ।
यसैगरी, कर्णाली प्रदेशमा नेकपा एसका उदय बोहोरा, माओवादी केन्द्रका नरबहादुर विष्ट र कांग्रेसकी दुर्गाकुमारी गुरुङ निर्वाचित भएका हुन् । उनीहरू गठबन्धनबाटै निर्वाचित उम्मेदवार हुन् ।
जो गोला तान्दा विजयी भए
राष्ट्रिय सभा निर्वाचनमा सातै प्रदेशमा सत्तारूढ दलहरू गठबन्धन बनाएरै मैदानमा उत्रिए । १९ पदका लागि भएको निर्वाचनमा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी बन्नेमा गठबन्धन आबद्ध नेताहरू विश्वस्त थिए । तर, प्रदेश १ मा भने सत्ता गठबन्धनले सोचेजस्तो सहज पनि थिएन ।
प्रदेश १ मा भएको निर्वाचन परिणामअनुसार गोलाप्रथाबाट सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत विजयी भएका हुन् । कांग्रेसको तर्फबाट उम्मेदवार बनेका उनले एमालेका उम्मेदवार गुरु बराललाई गोलाप्रथाबाट हराएको निर्वाचन आयोगले बताएको छ ।
उनीहरू दुवै जनाले बराबर मत प्राप्त गरेपछि गोलाप्रथाबाट विजेता घोषणा गरिएको हो । दुवै उम्मेदवारले ४ हजार ४ सय ८८ मतभर पाएका थिए । त्यसपछि गोलाप्रथाबाट बस्नेत विजयी बनेका हुन् ।
राष्ट्रिय सभा निर्वाचनसम्बन्धी ऐन २०७५ को दफा ५८ मा बराबर मत आएमा गोलाप्रथाबाट विजेता घोषणा गर्ने उल्लेख छ ।
‘क्लिनस्विप’बाट जोगियो एमाले
राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्टिय जनमोर्चाको तर्फबाट बनेको पाँच दलीय गठबन्धनले सानदार जित हात पार्दा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले पनि गठबन्धनलाई चुनौती दिँदै एक सिट जोगाएको छ ।
सत्ताधारी दलहरू गठबन्धनसहित मैदानमा उत्रिँदा एमालेले प्रदेश १ तर्फ आफ्ना उम्मेदवारलाई विजयी बनाउन सफल भएको हो । योसँगै १९ सिटका लागि भएको निर्वाचनमा एमाले ‘क्लिनस्विप’ हुनबाट जोगिएको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार चुनाव भएका १९ मध्ये १८ सिटमा गठबन्धनमा आबद्ध दलका उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् । शेर्पाको विजयले राष्ट्रिय सभामा एमाले नै ठूलो पार्टीको हैसियतमा उभिएको छ ।
राष्ट्रिय सभामा एमाले नै ठूलो
बुधबारको निर्वाचनअघि राष्ट्रिय सभामा एमालेको २४ सिट थियो । बुधबारबाटै एमालेले आफ्नो सात सिट गुमाउँदै १७ सिट कायम राखेको छ ।
यसैगरी, माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ । चुनावअघि १४ सिट रहेको माओवादीले निर्वाचनपछि १ सिट थप्दै दोस्रो ठूलो दल बनेको हो । माओवादीबाट चार सिट रिक्त हुँदै गर्दा थप एक सिट जितेको हो । बुधबार भएको निर्वाचनपछि माओवादी केन्द्रको सिट १५ पुगेको छ ।
यसैगरी, तेस्रो ठूलो दल नेपाली कांग्रेस बनेको छ भने यसअघि सात सिटमा मात्रै सीमित रहेको कांग्रेसले सिट बढाएर १० पु¥याएको छ । कांग्रेसबाट तीन सिट रिक्त हुँदै थियो ।
यस्तै, एकीकृत समाजवादी राष्ट्रिय सभामा चौथो ठूलो दल बनेको छ । चुनावअघि सात सिटमा रहेको सो दलबाट चार सदस्य रिक्त हुँदै थिए । गठबन्धनमा भएको भागबन्डामा नेकपा एसले पाँच सिट पाएको थियो भने अब आठ सिटसहित नेकपा एस चौथो ठूलो दल बनेको हो ।
यसैगरी, एक सिट रहेको जनता समाजवादीले गठबन्धनमा दुई सिट पाएको भए पनि एक सिट मात्रै थप्न सफल भयो । प्रदेश १ मा जसपाले एक सिट गुमाएको हो । अब राष्ट्रिय सभामा जसपा दुई सांसद भएका छन् ।
यसैगरी, प्रतिनिधिसभामा मात्रै रहेको जनमोर्चाको राष्ट्रिय सभामा समेत खाता खोलेको छ । लुम्बिनी प्रदेशको दलिततर्फ जनमोर्चाका उम्मेदवार तुलबहादुर विश्वकर्मा विजयी भएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।