काठमाडौं- न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्दै छन् । कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा हुने फाइनलमा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
आज पुलिस अपराजित रहँदै च्याम्पियन बन्ने योजनामा छ । लिग चरणमा अपराजित पुलिस शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । एपीएफ भने लिग चरणमा पुलिससँग पराजित भएको थियो । तर, एपीएफ दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो ।
एपीएफ आज पुलिससँग हारको बदला लिँदै उपाधि चुम्न चाहन्छ । त्यस्तै शनिबार नै तेस्रो स्थानको लागि आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब र परोपकार आदर्श माविबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख नगद प्राप्त गर्दा उपविजेताले २ लाख ५० हजार पाउने छन् । त्यस्तै तेस्रोले १ लाख २५ हजार र चौंथोले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।