काठमाडौं - साफ क्लब महिला च्याम्पियनसिपको फाइनलिस्ट भारतीय टिम इस्ट बंगालका मुख्य प्रशिक्षक एन्टोनी एन्ड्रुजले फाइनलमा टिमको ‘फिनिसिङ’मा सुधार आउने बताएका छन् ।
इस्ट बंगालले गत शुक्रबार च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा अवसर सदुपयोग गर्न नसकेपछि घरेलु टोली एपीएफसँग बराबरी गरेको थियो । मुख्य प्रशिक्षक एन्ड्रुजले फाइनलमा यही कमजोरी नदोहोरिने जनाउँदै टिमको ‘फिनिसिङ’मा सुधार आउने बताएका हुन् ।
“एपीएफलाई कमजोर टिमको रूपमा लिएका छैनौँ । यसअघि सम्पन्न समूह चरणको अन्तिम खेलमा एपीएफ र इस्ट बंगालले खेल हारे पनि असर पर्दैनथ्यो । म फाइनलमा टिमले फरक प्रदर्शन गर्ने कुरामा विश्वस्त छु,” एन्ड्रुजले भने, “हामीलाई आफ्नो कमजोरीबारे थाहा छ । टिमको मनोबल उच्च छ । यसअघि हामीले थुप्रै अवसर र्सिजना गरे पनि गोलमा परिणत गर्न सकेनौँ । फाइनलमा इस्ट बंगालले धेरै अवसर सिर्जना गरेर सदुपयोग गर्नेछ ।”
इस्ट बंगालले फाइनलमा भोलि (शनिबार) घरेलु टोली एपीएफसँग प्रतिस्पर्धा गर्ने तालिका छ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुनेछ । इस्ट बंगालले प्रतियोगितामा शीर्ष टोलीको रूपमा फाइनलमा स्थान बनाएको थियो । इस्ट बंगालले समूह चरणमा कुल चार खेल खेल्दा तीन जित र एक हारसहित १० अंक बनाएको थियो ।