टोरन्टो: क्यानाडाको दक्षिणी प्यासिफिक नर्थवेस्ट क्षत्रमा तापक्रम बढिरहँदा कैयौँ मानिसहरूको मृत्यु भएको छ ।
ब्रिटिसको कोलम्बियास्थित प्रहरीले सोमबार यता ज्यान गुमाउनको संख्या ६० नाघेको जनाएको छ । मृत्यु हुनेमा बढी ज्येष्ठ नागरिक छन् ।
उक्त क्षेत्रमा गर्मी बढ्दा त्यसले मानिसहरूको मृत्यु भएको बताइएको छ । ब्रिटिस कोलम्बियास्थित लिटनामा तापक्रम आइतबार ४६.६ डिग्री सेल्सियस थियो भने सोमबार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो ।
यो साताअघि क्यानाडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन । भ्यानकुभरको बाहिरीबस्ती रहेको बर्नेबीमा रहेका रोयल क्यानिडियन माउन्टेड प्रहरी माइक कलान्जले भने,‘आफ्ना छिमेकी, परिवारका सदस्य, ज्येष्ठ नागरिकको के भइरहेको छ, खोज्नुस् ।’
यो मौसम हाम्रो समुदायका जोखिममा रहेका सदस्यहरूलाई घातक हुनसक्ने उनको भनाइ छ ।
‘खासगरी ज्येष्ठ नागरिक र पहिला नै स्वास्थ्य समस्या भएकाहरू बढी जोखिममा छन् । यस्तो अति गर्मीका बेला हामीले एकअर्काबारे बुझ्नु अति आवश्यक छ,’ उनी भन्छन् ।
बर्नेबीमा मात्रै प्रहरीले एक्कासी मृत्यु भएका २५ वटा घटना बाहिर आएको बताएको छ । र, त्यसमा धेरैजसो निवृत्तिभरण पाइसकेका मानिसहरू छन् ।
ग्लोब र मेल पत्रिकाले जनाएअनुसार ब्रिटिस कोलम्बियाका प्यारामेडिकहरूले आइतबार तापक्रम बढ्दा समस्या भएको भन्दै एक सयभन्दा बढी मानिसले फोन गरेर मद्त मागेको बताएका थिए ।
लिटनको सानो गाउँमा बस्ने मेघन फ्यान्डरिचले ती पत्रिकालाई जनाएअनुसार घरबाट बाहिर निस्किन लगभग असम्भ भनेको थियो ।
‘सहनै नसक्ने भएको छ,’ उनले भनिन् ।
‘हामी सकेसम्म घरभित्रै बस्ने प्रयास गरिरहेका छौं । मलाई लाग्छ हामी गर्मीसँग अभ्यस्त छौं । तर, सुख्खा गर्मी हो । ३० भन्दा ४७ डिग्री सेल्सियस धेरै नै बढी हो ।’
इन्भाइरोन्मेन्ट क्यानाडाले बढ्दो तापक्रमबारे ब्रिटिस कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ । त्यसबाहेकका उत्तरपश्चिमी भूभागलाई पनि सूचना जारी गरिएको छ ।
‘हामी विश्वमा धेरै चिसो हुने र हिउँ पर्ने देशको सूचीमा दोस्रो स्थानमा पछौं,’ इन्भाइरोन्मेन्ट क्यानाडाका वरिष्ठ जलवायुविद् डेभिड फिलिप्सले भने ।
‘हामी चिसोबारे धेरैजसो कुरा गर्छौं तर गर्मी मौसमबारे त्यतिधेरै कुरा गर्दैनौं,’ उनले भने ।
अमेरिकामा कस्तो असर परेको छ ?
अमेरिकाको पोर्टल्याण्ड र सियाटलमा तापक्रम बढी छ । सन् १९४० यता तथ्याङ्क राख्न थालिएयता अहिले त्यहाँ सबैभन्दा बढी तापक्रम पुगेको छ ।
अमेरिकाको नेशनल वेदर सर्भिसका अनुसार आरेगनको पोर्टल्याण्डमा तापक्रम ४६.१ डिग्री सेल्सियस पुगेको छ भने सियाटलमा ४२.२ पुगेको छ ।
गर्मी यति बढी छ कि तारहरू पग्लिएका छन् र त्यसैकारण आइतबार पोर्टल्यान्ड स्ट्रीकार सेवा बन्द गरिएको थियो ।