×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओलीको निष्कर्ष : वामगठबन्धनको सम्भावना छैन

ओलीको निष्कर्ष : वामगठबन्धनको सम्भावना छैन

काठमाडौं- स्थानीय तह निर्वाचनअघि केपी ओली स्फूर्त देखिन्थे। मेची महाकाली एक्लै र आफैँ निर्वाचन प्रचारमा कस्सिएका ओली जता जान्थे, आमसभापिच्छे खचाखच मान्छे देखेर उत्साहित हुँदै फर्कन्थे।

तर, निर्वाचन परिणामले उनलाई २०५ तहमा खुम्च्याइदियो। ७० प्रतिशत बढी जित्ने महत्वाकांक्षालाई अघिल्लो वर्षभन्दा ८९ सिटमुनि झार्दिएपछि उनी अहिले ‘मौनअनुष्ठान’मा छन्।

एकाध कार्यक्रमबाहेकमा जानेबाहेक उनी विरलै बालकोटबाट बाहिर निस्कन्छन्। बरु बालकोटमै भेटघाट बाक्लो बनाएका छन्। आफूनिकट र विकट भएकाहरूलाई भेटेर सम्भावित परिदृश्य देखाउन थालेका छन्।

ओली स्थानीय तहअघि नै सत्ता–साझेदार दल तितरवितर होऊन् भन्ने चाहन्थे। उनले एमसीसीमा खेल्न खोजेकै हुन्। भदौदेखि जेठसम्मै सदन चल्न नदिएर सदन निकम्मा सावित गर्न खोजेकै हुन्। यी सबै राजनीतिक गतिविधि–कार्यकलापमा ओली कच्चा खेलाडी सावित भए। एमालेको अवरोध, असन्तुष्टि एमालेकै निम्ति घातक भए पनि ओली अर्को रणनीतिमा छन्।

सत्तारूढ दलहरूप्रति असन्तुष्टि, अन्तरविरोध सिर्जना गर्ने। तर, कांग्रेस जुनसुकै मूल्य चुकाएर भए पनि गठबन्धन जोगाउने र एमालेलाई साइजमा ल्याइछाड्ने मनःस्थितिमा देखिएपछि ओलीले यहाँ पनि असफल भएको बोध गर्न थालेका छन्। र, आफैँभित्रका असन्तुष्टतिर फर्किएर हेर्न थालेका छन्।

ओली गुटभित्रैको असन्तुष्टिले एमालेले जित्नै पर्ने स्थानीय तह हा¥यो । ओलीले त कम्तिमा ८८ तह अन्तरविरोधकै कारण गुमाएको निष्कर्ष निकालेका छन्। तर, पोखरा महानगर, बुटवल, तिलोत्तमा, हेटौँडा, इटहरी आदि ठूला तहचाहिँ ओली समूहभित्रैको असन्तुष्टिले गुमाएको निष्कर्ष एमालेभित्र छ।

ओलीले सोचिसकेका छन् आउँदो निर्वाचनमा वामगठबन्धन सम्भव छैन। भए पनि माओवादी केन्द्रको बार्गेनिङ पावर बढेको छ। हिजोजस्तो ६०–४०मा भागबण्डा सम्भव नहुनसक्छ। त्यसमाथि माओवादी इमान्दार नै हुन्छ भन्ने पनि के छ र ! एकीकृत समाजवादीबाट फर्केलान् भन्ने पनि देखिएन । केही नेता त्यसमा तयार देखिए पनि माधव नेपालको उपेक्षा रहस्यमय छ।

चीन वाम तालमेलका लागि बाटो खोजिरहेको छ। मुखररूपमा नै आइरहेको छ। तर, कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार कूटनीतिक सीमा बिर्सिएर झुक्न थालेकाले उसले पनि बाटो पाउन सकेको छैन। पुष्पकमल दाहाल र माधव नेपालले कांग्रेसतिर मिल्दा नै लाभ हुने बुझिसकेका छन् । गठबन्धनप्रति इमान्दार नहुने ओलीप्रवृत्तिले उनीहरूलाई त्यहाँ पुर्‍याएको हो।

स्वतन्त्रतर्फ लहर चलेकाले एमालेभित्रिएर जित आफ्नो पक्षमा पार्देलान् भन्ने पनि भएन। त्यसलै ओली आउँदो आम निर्वाचनमा एमाले हार्न तयार हुनुपर्ने बताउन थालेका छन्। “वामगठबन्धनको सम्भावना छैन । प्रचण्ड प्रवृति र माधव नेपाल चिन्तनले यो सम्भव पनि छैन । बरु यो निर्वाचन हार्न तयार होऔँ,” बालकोटको निष्कर्ष सुनाउँदै एक नेता बताउँछन्।

ओलीले यो निष्कर्ष निकाल्नुको कारण आउँदो निर्वाचनमा एमालेले दोस्रो पार्टीबाट तल झर्ने नठान्नु नै हो। एमाले दोस्रो हुँदा सत्ताको ढोका जतिसुकै बेला खुल्न सक्ने उनको बुझाइ छ। वामगठबन्धनका नाममा कम्युनिस्ट घटकहरूको स्वार्थ जोडेर सत्ताको आकार त आउने तर आफ्नो सपना साकार नहुने भएकाले उनी यो निर्वाचन हार्न तयार भएको निष्कर्ष पनि एमालेकै नेताहरू निकाल्छन्।

प्रतिकृया दिनुहोस्