धनगढी- सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले देशका विभिन्न ठाउँमा बन्ने भनिएका नयाँ सहरहरू लगानी अभावमा बन्न नसकेको बताएकी छन् । समाजवादी प्रेस सङ्गठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री झाँक्रीले नयाँ सहर निर्माणका लागि निजी क्षेत्रलाई समावेश गर्न नसक्दा लगानी अभाव भएको बताइन् ।
उनले सुरुवातमै नमुना सहर निर्माण सम्पन्न नगरेरै थप सहर निर्माणका योजना थपिँदा काम गर्न नसकिएको बताइन् । ‘पहिले १० वटा नयाँ शहर थिए, अहिले स्मार्ट सिटी, मेघा सिटीलगायत थपिएर ५० वटा शहर पुगेका छन्,’ उनले भनिन् ‘यी सबै सहर निर्माण गर्न लगानी अभाव भएको छ । अब निजी क्षेत्रलाई पनि सहभागी गराएर अगाडि बढ्नुपर्छ ।’ उनले निजी क्षेत्रलाई पनि सहर निर्माणमा समावेश गर्न नीतिमा पनि परिमार्जन गर्नुपर्ने बताइन् ।
सहर व्यक्ति-व्यक्तिलाई पनि चाहिने भएकाले निजी सम्पत्ति पनि लगानी गर्नुपर्ने उनको भनाई छ । १० लाख रुपैयाँले नयाँ सहर नबन्ने भन्दै उनले भनिन्, ‘अब ५०/५२ वटा सहर बनाउनुपर्ने छ । त्यसका लागि सरकार नयाँ नीति निर्माणसहित कार्यान्वयनमा जानेछ ।’