नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले साउन १२ गते वडा तहको अधिवेशन नहुने बताएका छन् । उनले युवा नेता गुरुराज घिमिरेको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन समारोहमा बोल्दै साउन १२ गतेबाट अधिवेशन हुँदैन भनेर सबैलाई थाहा भएपनि यथार्थ भन्न डराउनुपर्ने अवस्था रहेको बताए ।
क्रियाशील सदस्यकै टुंगो नलागेको अवस्थामा वडाको अधिवेशन नहुने निश्चित भइसकेको भएपनि अधिवेशन हुँदैन भनेर कसैले पनि नभनेको भन्दै नेता सिटौलाले ‘कांग्रेस यथार्थ भन्न डराउने अवस्थामा’ पुगेको टिप्पणी गरेका छन् ।
‘आज हाम्रो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्यो । बैठकमा सभापतिजी र रामचन्द्रजी दुवैले भदौमै जसरी पनि महाधिवेशन हुन्छ भन्नुभयो । अब पहिले तोकेको मितिमा महाधिवेशन हुँदैन भनेर सबैलाई थाहा छ । तर कोही पनि हुँदैन भन्न तयार छैन,’ सिटौलाले भने, ‘१२ गते अधिवेशन हुँदैन भन्ने थाहा छ । तर, औपचारिक रुपमा त मैले पनि भन्नुहुँदैन‚ किनभने निर्णय नै भएको छैन । यथार्थ त हुँदैन भन्ने नै हो । तर, यथार्थ भन्न डराउने कांग्रेस भइएको छ ।’