×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एकदिवसीय सिरिज : क्यानडालाई नेपालको मध्यम लक्ष्य

एकदिवसीय सिरिज : क्यानडालाई नेपालको मध्यम लक्ष्य

काठमाडौं - क्यानडा र नेपालबीचको तीन खेलको ओडिआई सिरिज अन्तर्गत बिहीबारबाट सुरु भएको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई २ सय २५ रनको लक्ष्य दिएको छ ।
ओपनर कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले क्यानडालाई २ सय २५ रनको लक्ष्य दिएको छ ।

टियु मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम बलमा अल आउट हुदै २ सय २४ रन बनायो ।

नेपालका लागि भुर्तेलले ५८ बलमा ९ चौका र १ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय ईनिङ खेले । भुर्तेलले २०२१ सेप्टेम्बर ७ मा ओमानमा भएको पपुवा न्युगिनीविरुद्धको सिरिजमा नेपालका लागि ओडिआईमा डेब्यु गरेका थिए । नेपालका लागि ४७ औं खेल उनको यो सातौं अर्धशतक हो ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखबीच ४८ रनको साझेदारी भएको थियो । आशिफ २४ बलमा ८ रनमा बनाएर ९ दशमलब १ ओभरमा उदय भगवानको बलमा नबनित धालीवालाबाट समातिए ।

त्यस लगत्तै क्रिजमा आएका कप्तान रोहित कुमार पौडेल १४ दशमलब ३ ओभरमा ईश्वरजोत सोधिको बलमा हर्ष थाकरद्वारा क्याच आउट भए । कप्तान पौडेलले १७ बलमा १ चौकाको सहयोगमा ८ रन बनाएका थिए ।

ओपनर कुशल भुर्तेल १८ दशमलब ३ ओभरमा क्यानडाका कप्तान साद विन जाफरको बलमा विकेटकिपर श्रेयस मोभाद्वारा स्टम्पिङ आउट भए । उनले ५८ बलमा ९ चौका र १ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय ईनिङ खेले ।

भीम सार्कीले २६ बलमा २ चौकाको सहयोगमा १७ रन बनाए । भीम २२ दशमलब ३ ओभरमा कप्तान साद विन जाफरको बलमा एलबीडब्लु आउट भए ।

कुशल मल्ल ३२ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाएर आउट भए । कुशल २९ दशमलब ३ ओभरमा हर्ष थाकरको बलमा निकोलस किर्टनद्वारा क्याच आउट भए ।

नेपालले छैटौं विकेटका रुपमा अरिफ शेखलाई गुमाएको थियो । आरिफ ५० बलमा ३८ रन बनाएर उदय भगवानको बलमा बोल्ड आउट भए ।

४१ दशमलब १ ओभरमा पवन सरार्फको रुपमा नेपालले सातौं विकेट गुमाएको थियो । पवनले ३४ बलमा १ चौकाको सहयोगमा १५ रन बनाए । पवनको ओडिआईमा बनेको यो सर्वाधिक स्कोर हो । यस अघि उनले स्कटल्याण्डमा भएको विश्वकप लिग टू अन्तगर्तको खेलमा नामिबियाविरुद्ध अविजित १० रन बनाएका थिए ।

आठौं नम्बरमा ब्याटिङमा आएका सोमपाल कामीले २३ बलमा १ चौका र २ छक्काको सहयोगमा २७ रन बनाए । सोमपाल उदय भगवानको बलमा प्रगत सिंहबाट क्याच आउट भए ।

सुर्य तामाङले अविजित १० रन बनाउँदा रिजन ढकालले ४ रन बनाए ।

क्यानडाका लागि उदय भगवानले तीन तथा कप्तान साद विन जाफर दुई विकेट लिए । ईश्वरजोत सोधी, साहिद अमजाद र हर्ष थाकरले समान एक एक विकेट लिए ।

यस खेलमा नेपालका लागि रिजन ढकाल र सुर्य तामाङले ओडिआई डेब्यु गरेका थिए ।

बायाँ हाते बलर रिजनले बागमती प्रदेशबाट खेल्दै प्रधानमन्त्री कप २०२४ मा ९ खेलमा १५ विकेट लिएका थिए । प्रधानमन्त्री कपमा सुर्य तामाङले बागमती प्रदेशबाट खेल्दै ३० विकेट लिएका थिए । बायाँ हाते बलर रिजनले बागमती प्रदेशबाट खेल्दै प्रधानमन्त्री कप २०२४ मा ९ खेलमा १५ विकेट लिएका थिए ।

नेपाल र क्यानडाबीचको दोस्रो खेल १० फेब्रुअरी अर्थात माघ २७ मा तथा अन्तिम खेल तथा तेस्रो खेल १२ फेब्रुअरी अर्थात माघ २९ मा हुनेछ ।
 

प्रतिकृया दिनुहोस्