पोखरा- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । उनले मौन समयमासमेत चुनाव प्रचार गरेको आरोपमा उजुरी दर्ता गरिएको हो ।
भट्टराईले मौन अवधिको अनुशासन उल्लंघन गरेका थिए । सभा, सम्मेलन, नारा, जुलुस, घरदैलो वा कुनै पनि विधिद्वारा भोट माग्न नपाइने मौन अवधिको आचार संहिता नाघ्दै उनले बुधबार पनि नागरिकसँग भेटघाट गर्ने र भोट माग्ने काम गरेको बताइएको छ ।
बुधबार बिहान पालुङ्टार नगरपालिका वडा नम्बर १ का बेलबास, भैसेपानी, खुर्पाजुङ, कोलकाटे, जोर्ती चौतारामा चुनावी कोणसभा गरेका थिए । भट्टराईले घरदैलो गरेको र चुनावी सभालाई सम्बोधन गरिरहेको तस्बिर आफैले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उनले आचार संहिता उल्लंघन गरेको भन्दै लिखित र मौखिक उजुरी पटक पटक दर्ता गरिएको निर्वाचन अधिकृत गोकर्णराज पन्तले जानकारी दिए ।
‘२८ गते निर्वाचन सम्बन्धी कार्यक्रम गरेको भनेर लिखित उजुरी आएको छ । उहाँ विरुद्ध धेरै जुरी छन्,’, उनले भने, ‘यसलाई हामी मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगमा फर्वाड गर्छौँ ।’ बाबुराम जसरी पनि पालुङटार आफ्नो पार्टीलाई जिताउन चाहन्छन् । त्यसैले गठबन्धनको मर्म विपरीत एमालेसँग तालमेल गरेका थिए ।