एजेन्सी - तिब्र गतिका बलर जस्प्रित बुमराहको करिअरको उत्कृष्ट प्रदर्शनसँगै भारतले पहिलो ओडिआई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई १० विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।
जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको भारतले १८.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतको जितमा कप्तान रोहित शर्मा ५८ बलमा ६ चौका र ५ छक्कासहित ७६ रनमा अविजित रहे । शिखर धवन ५४ बलमा ४ चौकासहित ३१ रनमा अविजित रहे ।
त्यसअघि लन्डनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड २५।२ ओभरमा १ सय १० रनमा अल आउट भयो । इंग्ल्यान्डका कप्तान जस बटलरले ३२ बलमा ६ चौकासहित सर्वाधिक ३० रन बनाए । इंग्ल्यान्डका प्रमुख चार ब्याटर शून्यमा आउट भए ।
नवौं विकेटका लागि डेविड विल्ली र बायडन कार्सले ३५ रनको साझेदारी गर्दै एकसय रन कटाएका थिए । कार्स १५ रनमा बुमराहको बलमा बोल्ड आउट भए । विल्ली २६ बलमा ३ चौकासहित २१ रनमा बोल्ड भए । बुमराहले विल्लीलाई आउट गर्दै ओडिआईमा पहिलो पटक ६ विकेट लिए । यो उनको ओडिआई करिअरको उच्च प्रदर्शन हो ।
भारतलाई तीव्र गतिका बलर जस्प्रित बुमराहले सानदार सुरुवात दिलाए । बुमराहको दोस्रो ओभरको चौथो बलमा इन साइड एज लागेर जेसन रोय डक आउट भए । यसै ओभरको अन्तिम बलमा जो रुट ऋषभ पन्तबाट शून्यमै क्याच आउट भए । तेस्रो ओभर चौथो बलमा बेन स्टोक्स एज लागेर शून्यमा पन्तबाट क्याच भएपछि इंग्ल्यान्ड ७–३ को दयनीय अवस्थामा पुगेको थियो ।
जोनी बेयरस्टो बुमराहको बलमा एज लागेर ७ रनमा आउट भए । बुमराहले लियम लिभिङस्टोनलाई शून्यमा बोल्ड आउट गरेपछि इंग्ल्यान्ड ७।५ ओभरमा २६–५ को अवस्थामा पुगेको थियो । छैटौं विकेटका लागि मोईन अली र बटलरले २७ रनको साझेदारी गरेका थिए । मोईन अली प्रसिद्ध कृष्णको बलमा कटएण्ड बोल्ड आउट हुँदै १४ रनमा पेभेलिएन फर्के ।
बटलर शामीको १५ औं ओभरको तेस्रो बलमा बान्सर बललाई छक्का हान्ने धुनमा डीप स्क्वायर लेगमा सूर्यकुमार यादवबाट क्याच भएपछि ५९–७ को दयनीय अवस्थामा पुगेको थियो । भारतका बुमराहले ७.२ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ६ विकेट लिए । मोहम्मद शामीले ७ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । दोस्रो खेल बिहीबार र तेस्रो खेल आइतबार हुनेछ ।