काठमाडौँ- माधवकुमार नेपालसहितका निवर्तमान १४ सांसदसम्बन्धी मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । अग्राधिकार प्राप्त उक्त रिट सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो । सोमबार १ नम्बर सूचीमा रहेको दुईवटा मुद्दाको मात्रै सुनुवाइ गरेर अरू सबै मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।
अघिल्लो प्रतिनिधिसभामा सांसद रहेका नेपालसहित १४ सांसदको पद बहाल रहने कि नरहने भन्नेसम्बन्धी विवादमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
आफूले कारबाही गरी पार्टी र सांसद पदबाट बर्खास्त गरिसकेका व्यक्तिलाई संसद सचिवालय र सभामुख अग्निप्रसाद सापकोटाले अर्को पार्टीको नामबाट सांसद पदको मान्यता दिएको भन्दै एमालेले सर्वोच्चमा रिट दर्ता गराएको थियो ।