काठमाडाैँ- चर्च ब्वाइज फुटबल क्लब ए डिभिजनमा बढुवा भएको छ। सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत मंगलबार बाँसबारी क्लबलाई ५-१ ले पराजित गरेसँगै चर्च ब्वाइज शीर्ष डिभिजनमा उक्लिएको हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा चर्च ब्वाइजलाई जिताउन साइमन लिम्बुले ४ गोल गरे। सातौं मिनेटमा साइमनको गोलमा अग्रता लिएको चर्च ब्वाइजका लागि १७ औं मिनेटमा आशिष चौधरीले गोल गर्दै अग्रता दोब्बर बनाए। ३७ औं मिनेटमा साइमनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता तेब्बर बनाए। ४१ औं मिनेटमा साइमनले पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे ।
खेलको ५८ औं मिनेटमा संजय धिमालले गोल गर्दै बाँसबारीलाई खेलमा फर्काउने कोशिष गरेपनि ८१ औं मिनेटमा साइमनले नै पेनाल्टीबाट व्यक्तिगत चौंथो गोल गर्दै चर्च ब्वाइजलाई ५-१ को जित दिलाए।
यो जितसँगै १२ खेलमा २६ अंक जोडेको चर्च ब्वाइज एक खेल अगाबै च्याम्पियन बन्न सफल भयो। बाँसबारीले १२ खेलमा १६ अंक जोडेको छ। चर्च ब्वाइज ‘बी’ डिभिजन खेलेको पहिलो सिजनमै शीर्ष डिभिजनमा बढुवा हुन सफल भएको हो। यो क्लबले २०७७ मा ‘सी’ डिभिजन लिग खेलेको थियो।