काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक नाबालिगले आफूलाई जबर्जस्ती गरेको भन्दै जाहेरी दिएकी छिन् ।
मंगलबार जिल्ला प्रहरी कार्यालय टेकुमा १७ वर्षकी एक नाबालिगले सन्दीपविरुद्ध किटानी जाहेरी दिएकी हुन् । उनले आफूलाई सन्दीपले जबर्जस्ती करणी गरेको आरोप लगाएकी छिन् । प्रहरीका एक उच्च अधिकारीका अनुसार ‘लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा पीडितका तर्फबाट उजुरी दर्ता भएको छ, उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र यस विषयमा अहिले बाहिर केही उल्लेख गर्न मिल्दैन,’ भनेका छन् ।
सन्दीप आफैं भने हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसिया पुगेका छन् । त्यसअघि सन्दीपको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली केन्या गएको थियो । घटना केन्या जानुअघि भएको बुझिएको छ ।