नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । बिहीबार अपराह्न बोलाइएको बैठक प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण स्थगित भएको हो ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थगित भएको बैठक शुक्रबार २ बजे बस्ने जानकारी दिएका छन् ।
पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी थियो । कांग्रेसबाट मन्त्री बन्नेहरूको आकांक्षी बढी भएपछि देउवालाई समस्या हुने देखिएको छ ।
उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेर मन्त्रीको टुंगो लगाउन चाहेका छन् ।
कांग्रेसबाट अहिले बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की सरकारमा सहभागी भएका छन् ।
पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिनबारे पनि छलफल गर्ने तयारी थियो । विवाद टुंगो लगाएर क्रियाशील सदस्यको विवरण नेतृत्वलाई बुझाउन क्रियाशील सदस्यता छानबिन समितिले दिएको समयसीमा बिहीबार सकिँदै छ।
क्रियाशील सदस्यताको सूची बुझाउन यसअघि असार २० गतेसम्म पाएको समितिले असार मसान्तसम्मको समय माग गरेको थियो ।