×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

कतार विश्वकप : क्रोएसियाको जित,जापान टाइब्रेकरमा पराजित

कतार विश्वकप : क्रोएसियाको जित,जापान टाइब्रेकरमा पराजित

काठमाडौं - साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अल जानोब स्टेडियममा सोमबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३-१ गोलले हरायो । 

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा समेत दुवै टोलीबाट थप गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा क्रोएसिया विजयी भयो । निर्धारित समयमा सुरुवाती अग्रता जापानले लिएको थियो । जापानका लागि डाईजेन माएदाले गोलको खाता खोले । उनले ४३औं मिनेटमा माया योसिदाको पासमा पोस्ट नजिकबाट गोल गरेका हुन् ।

त्यसपछि ५५औं मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो । इभान पेरिसिकले डेजन लोभरेनको पासमा बराबरी गोल गरे । त्यसपछि निर्धारित ९० मिनेट र थप समयमा समेत गोल भएन । 

पेनाल्टीमा क्रोएसियाले तीन गोल गर्न सफल भयो । जापानले एउटा मात्र गोल गर्न सक्यो । जापानका तीनवटा पेनाल्टी प्रहारलाई क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले सजिलै बचाए ।

क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरे । मार्को लिभाजाको प्रहारलाई जापानका गोलरक्षकले बचाए । 

यता जापानका ताकुमा असानोले मात्र गोल गरे । ताकुमी मिनामिनो, माया योसिदा र कोरु मितोमाले गोल गर्न सकेनन ।

क्रोएसियाले क्वार्टरफाइनलमा  ब्राजिल र दक्षिण कोरियाबीचको विजेतासँग खेल्नेछ । 


 

प्रतिकृया दिनुहोस्