काठमाडौँ- नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं.२ प्रतिनिधिसभाको एमालेको उम्मेदवार महेश बस्नेतले वर्तमान गठबन्धन सरकारले मुलुक र विकासको होलीडे मनाएको भन्दै आक्रोश पोखेका छन्।
नेकपा एमाले सूर्यविनायक नगरकमिटी वडा नं. ५ ले आज आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै नेता बस्नेतले दिगो विकासको लागि केपी ओली नेतृत्वको सरकारले मुलुकलाई विकासन्मुख राष्ट्रको रूपमा स्थापित गराएको स्मरण गराए ।
ओली नेतृत्वको सरकारले मुलुकलाई छिट्टै विकसित बनाउने अभियान चलाएता पनि वर्तमान गठबन्धन सरकारले विकासको बिदा मनाइरहेको दाबी गरे। जनचाहनालाई लत्त्याउँदै विकासको बजेट कटौती गरी विकासलाई रोक्ने गठबन्धन सरकारलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनताले जनमत नदिएर सधैँको लागि बिदा गर्ने दाबी गरे। मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै उनले उक्त सरकारले पुनः विकास र समृद्धिको लहर पैदा गर्ने उनको दाबी छ।