काठमाडौँ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ । आजदेखि ५८ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन प्रक्रिया शुरु हुने भएको हो । ती जिल्लाका १ सय १५ भन्दा बढी क्षेत्रमा अधिवेशन हुन लागेको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । जहाँबाट झन्डै ३ हजार १ सय महाधिवेशन प्रतिनिधि छानिनेछन् । क्षेत्रीय अधिवेशनले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति पनि चयन गर्नेछ ।
क्षेत्रीय सभापतिले पनि महाधिवेशन प्रतिनिधिसमेतको भूमिका पाउनेछन् । नेपाली काँग्रेसको विधानअनुसार हरेक प्रतिनिधिसभा क्षेत्रबाट २५ प्रतिनिधि छनोट हुने प्रावधानअनुसार आज हुने क्षेत्रीय अधिवेशनबाट सो सङ्ख्यामा प्रतिनिधि छनोट हुने भएका हुन् । कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि प्रतिनिधि छनोट महत्त्वपूर्ण मानिन्छ ।