नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता जीवन राईलाई नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ताको प्रमाणपत्र दिइएको छ । जेठ ३० गते निर्वाचन आयोगमा दर्ता भएको पार्टीलाई प्रमाणपत्र दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
पार्टीले चुनाव चिन्ह कलम पाएको छ भने पार्टीको दर्ता नम्बर १६३ रहेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष जीवन राईको नेतृत्वमा सो दल दर्ता भएको हो । गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन परेको थियो ।
करिब दुई दशक अनेरास्ववियुको राजनीतिमा संलग्न राई अघिल्लोपटक वरिष्ठ नेता नेपाल समूहबाट अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएपछि जिम्मेवारीविहीन थिए । नेता नेपालले उनलाई नै अघि सारेर पार्टी दर्ताका लागि निवेदन दिन लगाएको बताइएको छ ।
नयाँ प्रस्तावित पार्टीमा २५ सदस्यीय केन्द्रीय कमिटी र पाँच सदस्यीय पदाधिकारी छ । उपाध्यक्षमा कास्कीकी कल्पना गुरुङ, महासचिवमा काभ्रेका विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा अर्घाखाँचीका सुशील खनाललाई राखिएको छ ।