×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकार र जनताका बीचमा प्रेसले पुलकाे रुपमा काम गर्नुपर्छ : सञ्चारमन्त्री कार्की

सरकार र जनताका बीचमा प्रेसले पुलकाे रुपमा काम गर्नुपर्छ : सञ्चारमन्त्री कार्की

हेटौंडा- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीको हकहित, सुरक्षा तथा पत्रकारिताको समग्र उन्ननयका लागि सञ्चारकर्मीको पेशागत सङ्घसंस्थासँग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज हेटौंडामा सम्बोधन गर्दै उनले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै राष्ट्रिय एकतालाई बलियो र सुदृढ बनाउनु पर्ने बताए । उनले भने, “सरकार र जनताकाबीचमा प्रेसले पुलका रुपमा काम गर्नुपर्छ । जनताको आर्थिक र सामाजिक रुपान्तरण गर्नुपर्छ ।”

उनले आर्थिक समृद्धि हासिल गर्न सरकारले आर्थिक ‘प्याकेज’ र पूर्वाधारको योजना नीति तथा कार्यक्रममार्फत कार्यान्वयन गरिराखेको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले नागरिकता वितरण लाई सहजीकरण गर्न सरकारले प्रतिनिधिसभामा नयाँ नागरिक विधेयक दर्ता गरेको जानकारी दिए ।

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा प्रजातन्त्रको रक्षाका लागि प्रेस र अभिव्यक्ति स्वतन्त्रताको जीवन्त राख्न राजनीति दलले आफूलाई सत्ताप्राप्तिको स्तम्भबाट बाहिर निकालेर देश र जनताप्रति उत्तरदायी बहन गर्नु पर्ने बताए । उनले भने, “प्रजातन्त्रलाई गतिशील र प्रेस स्वतन्त्रतालाई सधैँ जीवन्त पार्नुपर्छ ।”

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्रीप्रसाद सिग्देलले प्रजातन्त्रलाई गतिशील प्रदान गर्न प्रेस स्वतन्त्रता आवश्यक हुने बताए ।

समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले संविधानको मर्मअनुसार प्रेस स्वतन्त्रता र प्रजातन्त्रको संरक्षणका लागि सबै प्रेस सङ्गठन एकढिक्का भई अघि बढ्नु पर्ने बताए ।

भोलि साउन ७ गतेसम्म सञ्चालन हुने युनियनको राष्ट्रिय महाधिवेशनबाट प्रेस युनियनको नयाँ नेतृत्वको निर्वाचन हुने र आजै अपराह्नमा महाधिवेशनमा सहभागी प्रतिनिधिले बन्दसत्रमा युनियनको प्रतिवेदन, वार्षिक कार्यक्रम र उम्मेदवारको मनोनयन दर्तासम्बन्धी प्रक्रिया सुरु गरिने बताइएकाे छ । महाधिवेशनमा सातवटै प्रदेशका प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ९०० मतदाता सहभागी रहेको छ ।

प्रतिकृया दिनुहोस्