काठमाडौँ- नेकपा एमालेका नेता तथा भक्तपुर २ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले आफूलाई हराउन अर्थमन्त्री जनार्दन शर्माले भक्तपुरको विकास बजेट काटेको आरोप लगाएका छन्।
आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा अर्थमन्त्रीले अर्थ सचिव राखेर विकास बजेट काटेको दाबी गरेका हुन्।उनले भक्तपुरको विकास निर्माणको कुनै कसर बाँकी नराखी काम गरेको जिकिर गरे। आफूले भक्तपुरको आवाजलाई सदनमा मात्रै नभएर राष्ट्रिय राजनीतिमा बुलन्द गरेको उनको भनाइ छ।
आफूहरूले समानुपातिक रूपमा उम्मेदवार दर्ता गरेको दाबी गरे। नेताकोबीचमा गठबन्धन भए पनि कार्यकर्ता र जनता तहमा गठबन्धन नभएकाले आफूहरूले मत पाउने विश्वास व्यक्त गरे। आफू लड्नको लागि मात्रै नभएर जितको सुनिश्चितताको साथ चुनावी मैदानमा आएको दाबी गरे ।