एजेन्सी - मोबाइल स्मार्टफोन अहिले हरेक व्यक्तिको नभई नहुने भइसकेको छ। अफिसियल कामका लागि होस् वा फुर्सदको समय सदुपयोग, जुनसुकै अवस्थाका लागि स्मार्टफोन निकै सहयोगी र उपयोगी पनि छ। स्मार्टफोनको बजारमा एन्ड्रोइड र आइफोनको बर्चस्व छ।
स्मार्टफोनले दैनिक जीवनयापनलाई सहज बनाइरहेको हामी सबैले अनुभव गरेकै विषय हो। तर, स्मार्टफोन आफैँले यी कार्य भने गर्दैनन्। यसमा प्रयोग हुने विभिन्न एप्लिकेसनमार्फत तपाईं–हाम्रो दैनिकी सहज बनिरहेका छन्।
एप्सले ल्याउने नयाँ फिचर प्रयोगकर्तामाझ बहसको विषय पनि बन्ने गर्छ। स्मार्टफोनका लागि हजारौँ एप्स बनेका छन्, जसमध्ये केही पैसा तिरेर त केही निःशुल्क प्रयोग गर्न पाइन्छ । यीमध्ये केही एप्स हरेकको स्मार्टफोनमा हुन्छन् ।
गुगल म्याप : प्रविधिको विकासले विश्वलाई सानो घेरामा समेटिदिएको छ। अहिलेको युगमा स्मार्टफोनको प्रयोगबाट मानिसले आधा सेकेन्डमा हरेक वस्तुको जानकारी लिन सक्छ। जसमध्ये अत्यधिक प्रयोगमा आउने एपमध्ये गुगल म्याप पनि हो।
हरेक स्मार्टफोनमा जिपिएस सेट गरिएको हुन्छ। गुगल म्यापको सहयोगबाट रुचिको स्थानमा सजिलै पुग्न सकिन्छ । जिपिएसले गन्तव्यसम्म पुग्न लाग्ने समयसमेत देखाउँछ।
गुगल प्लेस्टोर : स्मार्टफोनमा अन्य एप डाउनलोड गर्नका लागि गुगल प्लेस्टोर अति आवश्यकजस्तै भइसकेको छ । एपहरूका नयाँ भर्सन र नयाँ अपडेटका लागि गुगल प्लेस्टोर प्रयोगमा ल्याउने गरिन्छ। गुगलबाट डाउनलोड गर्नका लागि अन्य एप्स पनि इन्टरनेटमा उपलब्ध छन्।
तर, गुगल प्लेस्टोरले यति सजिलो बनाइदिएको छ कि जुनसुकै प्रयोगकर्ताले स्मार्टफोनको लेभलअनुसार एप डाउनलोड गर्न सक्छन्।
जिमेल : इन्टरनेटमा सहज पहुँचका लागि जिमेल एकाउन्ट आवश्यक हुन्छ। सुरुवातीमा चिठीपत्र वा फ्याक्सको सट्टामा आएको जिमेल डाटा संकलनका लागि उपयुक्त स्थानसमेत हो।
गुगल सर्च : खोजी इन्जिनका लागि गुगल सर्च सबैभन्दा पहिला आउने नाम हो। विश्वभर हरेक मिनेट लाखौँ मानिस एकसाथ गुगल सर्च प्रयोग गरिरहेका हुन्छन्। गुगलले लगभग विश्वमा रहेका हरेक विषयवस्तुको जानकारी राखेको छ।
जसले सर्च गरेको ३० सेकेन्डमा एकै विषयवस्तुमा सयौँ जानकारी उपलब्ध गराउन सक्छ। मानिसको दिमागले भ्याएसम्म हरेक विषय गुगलमा भेट्न सकिन्छ।
युट्युब : पछिल्लो समय ल्यापटप र डेस्कटपभन्दा स्मार्टफोन बढी प्रयोगमा आउने गर्छन्। स्मार्टफोनमा प्रयोग हुने अर्को लोकप्रिय एपमा युट्युब पनि पर्ने गर्छ। कुनै एउटै विषयमा हजारौँ कन्टेन्ट सजिलै भेट्न सकिने र घन्टौँसम्म हेर्न वा सुन्न सकिने हुँदा युट्युब अत्यधिक प्रयोगमा आउने एपमा परेको हो।
फेसबुक : अत्यधिक प्रयोग हुने एप्समा फेसबुक पनि एक हो। फेसबुकमा हालसम्म नौ सय मिलियन सक्रिय प्रयोगकर्ता छन्। सञ्चारका लागि बनाइएका एप्समध्ये फेसबुक सबैभन्दा सफल एप हो।
जसले जुनसुकै स्थानमा रहेका व्यक्तिहरूसँग पनि सजिलै जोड्न सक्छ। यसबाहेक प्यान्डोरा रेडियो, इन्स्टाग्राम, एप्पल म्याप, याहु स्टक आदि पनि अत्यधिक प्रयोगमा आउने एप हुन्।
-एजेन्सीको सहयोगमा