काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका आलमको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा आज निधन भएको हो। उनी ६३ वर्षका थिए।
एक महिनादेखि केएमसीमा भर्ना भएका आलमको उच्चरक्तचाप, सुगर लगायतका स्वास्थ्य समस्याका कारण उपचार भइरहेको थियो। पछिल्लो एक सातादेखि स्वास्थ्य अवस्था थप बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। आलम निकट कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले उपचारकै क्रममा उनको निधन भएको पुष्टि गरे।
आलमका छोरा डा. राजीक आलमका अनुसार बुवालाई डेढ महिनाअघि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइएको थियो। त्यहाँ स्वास्थ्यमा सुधार आएपछि घर फर्काइएकोमा केही समयपछि स्वास्थ्य अवस्था झनै खराब भएको थियो।
यसअघि, गत जेठ १४ गते नख्खु कारागारबाट छुटेको केही दिनमै उनलाई मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। एक साताभन्दा बढी आईसीयूमा उपचारपछि डिस्चार्ज भएका आलमलाई दसैंअघि थप उपचारका लागि भारत लगिएको छोरा डा. राजीकले जानकारी दिए। पुरानै समस्या बल्झिएपछि उनलाई केएमसी अस्पतालमा भर्ना गरिएको थियो।