पोखरा- केन्द्रीय समितिले पोखराको मेयर एकीकृत समाजवादीलाई दिएको विरोधमा पोखरा कार्यसमितिले जिल्ला कार्यसमितिको कार्यालयमा तालाबन्दी गर्यो । नगर कार्यसमितिका सदस्यहरूसँग सल्लाह नगरी आफूखुसी तालाबन्दी गरेको भन्दै असन्तुष्ट सदस्यले आफ्नै कार्यालयमा ताला लगाएका छन् ।
नगर सदस्य राजन श्रेष्ठले महानगर समिति विधि विपरीत चलेको आरोप लगाए । विपीको सिद्धान्त पालन गर्दै पार्टी भित्र हुने गलत क्रियाकलापविरुद्ध आवाज उठाइराख्ने उनले बताए । बेथितिका कारण नगर समितिले सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गर्न नसकेको उनको आरोप छ ।
‘केन्द्रस्तर बाट महानगर, जिल्ला र प्रदेशका सभापतिको सहमतिमा पोखराको मेयर चयन भएको हो । त्यसको विरोध गर्नुकाे कुनै औचित्य छैन,’ उनले भने, ‘नगर समितिका अरू सदस्यहरूसँग सल्लाह नगरी एकतर्फी रूपमा ताला लगाएकोमा मेरो विरोध छ । त्यसैले मैले महानगरमा ताला लगाएको हुँ ।’
उनले केन्द्रको निर्णय कार्यान्वयन गर्नतर्फ लाग्न पार्टी पंक्तिसँग आग्रह पनि गरेका छन् ।