काठमाडौँ- गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता खगराज अधिकारीले आज बसेको प्रदेश सभा बैठकमा विश्वासको मत मागेका छन् । यसअघि उनी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र सांसदको समर्थनमा दाबी पेश गरेपछि मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनलाई मुख्यमन्त्रीमा समर्थन गरेका मनाङबाट निर्वाचित स्वतन्त्र उम्मेदवार राजीव गुरुङ उर्फ दीपक मनाङेले विश्वासको मत भने नदिने भएका छन् । मनाङेले अधिकारीले विश्वासको मत पाउने भएकाले आफू प्रतिपक्षमा बस्ने दाबी गरेका छन् ।
तर, उनले यसअघि अधिकारीलाई समर्थन गर्दा आफूले मन्त्रालय पाउनु पर्ने माग गरेका थिए । अधिकारीले चाहिँ उनलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी नदिने बताएपछि उनी विश्वासको मत दिनबाट पछाडि हटेका हुन् ।
‘उहाँको माग एउटा मन्त्रालयको नेतृत्व पाऔँ भन्ने थियो,’ अधिकारीनिकट एक नेताले फरकधारलाई बताए, ‘तर, मुख्यमन्त्रीले उहाँलाई अहिले मन्त्री बनाउन नसकिने भन्ने जवाफ दिएपछि उहाँ पछि हट्नु भएको हो ।’