×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आईसीसीद्वारा अमेरिकी क्रिकेट बोर्डको सदस्यता निलम्बन

आईसीसीद्वारा अमेरिकी क्रिकेट बोर्डको सदस्यता निलम्बन

काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी क्रिकेट बोर्डको सदस्यता निलम्बन गरेको छ। बारम्बार संविधानअनुसारका दायित्व पूरा नगरेको भन्दै आईसीसी बोर्डले यो निर्णय गरेको हो।

अमेरिकी क्रिकेटले शासन संरचना सुधार नगरेको, अमेरिकाको ओलम्पिक तथा प्यारा–ओलम्पिक समितिसँग राष्ट्रिय निकायको मान्यता लिन प्रगति नगरेको र विभिन्न गतिविधिले विश्व क्रिकेटमै बदनाम पारेको आरोप आईसीसीले लगाएको छ।

सदस्यता निलम्बन भए पनि अमेरिकी राष्ट्रिय टोली भने आगामी प्रतियोगिताहरू र २०२८ मा हुने ओलम्पिकका तयारीमा सहभागी हुनेछन्। ती टिमको व्यवस्थापन अब अस्थायी रूपमा आईसीसी वा त्यसका प्रतिनिधिले गर्नेछन्।

आईसीसीले ‘नर्मलाइजेसन कमिटी’ गठन गरी अमेरिकी क्रिकेटलाई आवश्यक सुधारका कदम चाल्न निर्देशन दिने र प्रगतिको अनुगमन गर्ने जनाएको छ।

यसअघि २०२४ को वार्षिक साधारण सभामा अमेरिकी क्रिकेटलाई ‘अन नोटिस’ मा राखिएको थियो तर मागिएका सुधार नगरेकाले अन्ततः २०२५ मा सदस्यता निलम्बन गरिएको हो।

यसअघि सन् २०१६ मा आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई पनि निलम्बन गरेको थियो। सन् २०१९ मा क्यानमाथिको निलम्बन फुकुवा भएको थियो। सन् २०२२ मा कन्ट्रोल फन्डिङको व्यवस्था पनि आईसीसीले हटाएको थियो। नेपाली टोलीले पनि क्यान निलम्बनका बाबजुद त्यसबेला अन्तर्राष्ट्रिय खेलहरू खेलेको थियो।

प्रतिकृया दिनुहोस्