×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नयाँ कार्यसमितिसँग प्रशिक्षक अब्दुल्लाह काम गर्न इच्छुक

नयाँ कार्यसमितिसँग प्रशिक्षक अब्दुल्लाह काम गर्न इच्छुक

काठमाडौं- निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै गत सोमबार पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ अध्यक्षमा निर्वाचित भए । बुढानिलकन्ठस्थित पार्क भिलेजमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको मात्रै पूर्ण नतिजा आएको थियो । सदस्यको भने गणना जारी थियो । 

यही समय नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबललाई भविष्यको कामनासहित नेपाली फ्यान्सलाई धन्यवाद दिँदै नेपाली टिमसँग काम नगर्ने संकेत गरेका थिए । तर, सामाजिक सञ्जालको स्टोरी अल्मुताइरीले केही समयमै हटाए ।

प्रतिक्रिया स्वाभाविक थियो, नतिजा अल्मुताइरीले चाहेको जस्तो थिएन । उनी निकट मानिएका अध्यक्ष शेर्पा पराजित भए । अल्मुताइरीले यसअघि नै शेर्पाबाहेक नयाँ टिमसँग आफू काम नगर्ने बताएका थिए । नयाँ कार्यसमितिले बुधबार नै सपथ खायो । तत्काल बसेको कार्यसमितिको बैठकले एन्फाको महासचिव र कोषाध्यक्ष क्रमशः किरण राई र रवीन्द्र जोशीलाई नियुक्त गर्नेसँगै सात बुँदामा रहेर केहि निर्णय गर्‍याे ।

महत्वपूर्ण अर्काे निर्णयमा प्रशिक्षक अल्मुताइरीसँग विवादपछि टिम बाहिर रहेका १० खेलाडीलाई राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गर्‍याे । यस्तै प्रशिक्षकको हकमा भने निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरी छानविन समितिको सुझाव कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दियो । अर्थात् उनको विकल्प खोज्न आग्रह गरियो । 

 

निर्णयसँगै एन्फाका नवनियुक्त महासचिव किरण राईले प्रशिक्षक अल्मुताइरीसँग सम्पर्क भएको र अल्मुताइरी नेपाल फर्कन इच्छुक भएको बताएका छन् । ‘प्रशिक्षकसँग सम्पर्क भएको थियो । उहाँ नेपाल आउन इच्छुक हुनुहुन्छ,’ राईले भने । 

गत महिना नेपाली टिम १० खेलाडीलाई बाहिर राख्दै कुवेतमा भएको एएफसी एसियक कप २०२३ छनोट खेलेको थियो । तीन खेल खेलेर नेपाली टिम घर फर्कदा प्रशिक्षक अल्मुताइरी भने कर्मभूमि फर्किएनन् । उनले तीन महिना बिदा मागेका छन् । 

महासविच किरण राईले प्रशिक्षक अल्मुताइरीसँग आगामी दिनको योजना मागेको र सो समेत प्राप्त भइसकेको बताए । प्रशिक्षक अल्मुताइरीले समेत योजना सार्वजनिक गरेका छन् । प्रशिक्षक अल्मुताइरीले आफ्नो अर्काे लक्ष्य फिफा विश्वकप २०२६ छनोट, एसियन कप २०२७ छनोट र साफ कप २०२३ रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्