जापान । नेपाली समुदायका लागि लक्ष्यित गरि जापानमा फाइनान्स कम्पनी औपचारिक रूपमा सञ्चालन भएकाे छ। नेपालीहरुको लगानीमा नेपालीकै लागि स्थापना गरिएको डाइनामिक फ्रेन्ड्स फाइनान्स कम्पनी औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
ऋण सेवा (फाइनान्स) प्रदान गर्ने कम्पनीका रुपमा जापान सरकारबाट आवश्यक स्वीकृति प्राप्त गरि सञ्चालनमा ल्याईएको यस कम्पनीको प्रधान कार्यालय चिवा केनको इचिकावा शहरमा स्थापना गरिएको छ । लामो समयदेखि जापानमा बसोबास गर्दै आएका २५ जना नेपालीहरूको संयुक्त लगानी तथा वर्षौंको तयारी पछि स्थापना गरिएको यस कम्पनीले नेपाली समुदायलाई सहज, सुरक्षित र विश्वसनीय वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।
कम्पनीले धितो सहित तथा धितो रहित व्यक्तिगत तथा व्यावसायिक कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। जापानमा रहेका धेरै नेपालीहरू आकस्मिक खर्च, अध्ययन शुल्क, व्यवसाय विस्तार तथा पारिवारिक आवश्यकताका कारण आर्थिक चुनौतीसँग जुध्दै आएको सन्दर्भमा यस संस्थाले सरल प्रक्रिया, छिटो सेवा र विश्वासिलो व्यवस्थापन मार्फत कर्जा सुविधा प्रदान गर्ने जनाएको छ।
कम्पनीका अनुसार यो केवल कर्जा दिने संस्था मात्र नभई नेपाली समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ स्थापना गरिएको हो। सेवा प्रवाहका क्रममा पारदर्शिता, कानुनी मापदण्डको पूर्ण पालना तथा ग्राहक प्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राखिने बताइएको छ । विद्यार्थी, श्रमिक तथा साना व्यवसायीहरूले आवश्यक प्रक्रिया पूरा गरी यस संस्थाबाट कर्जा सेवा लिन सक्ने छन्। साथै, ग्राहकहरूको व्यक्तिगत विवरणको सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
भविष्यमा थप वित्तीय सेवा विस्तार गर्दै लैजाने योजना बनाएको कम्पनीले दीर्घकालीन ग्राहक सम्बन्ध निर्माण गर्दै सुरक्षित र भरपर्दो सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ। नेपालीहरूको लगानीमा जापानमा स्थापना भएको यो पहिलो ऋण सेवा प्रदायक कम्पनी भएको दाबी गरिएको छ। जापानमा नेपाली समुदायको संख्या निरन्तर बढ्दै गएको र विभिन्न क्षेत्रमा उनीहरूको सक्रिय उपस्थिति रहेको अवस्थामा यस्तो पहललाई समुदायका लागि सकारात्मक र प्रेरणादायी कदमका रूपमा हेरिएको छ।