काठमाडौं- जनमत पार्टीका अध्यक्ष एंव नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त (सिके) राउतले राजनीतिक छलफल तथा भेटवार्तालाई तीव्रता दिएका छन् । मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा सप्तरी २ बाट निर्वाचित भएका उनले विभिन्न दलका शीर्ष नेता तथा पादाधिकारीहरुसँग निरन्तर जसो भेटवार्ता गर्दै आएका छन् ।
नयाँ सरकार गठनमा कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुन सकारात्मक रहेका डा राउतले आज (आइतबार) बिहान नेपाली कांग्रेस प्रवक्ता प्रकाशशरण महतसँग भेट गरेका छन् । भेटमा बधाई आदानप्रदानसँगै नयाँ सरकार गठनका सन्दर्भमा कुराकानी भएको र जनमत पार्टी गठबन्धनमा सामेल हुन तयार रहेको प्रवक्ता महतले बताए ।
यसअघि उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री बालकृष्ण खाण र कांग्रेस नेता विमलेन्द्र निधिसँग भेट गरिसकेका छन् ।