×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कञ्चनपुरको गड्डाचौकीबाट भित्रिने पर्यटक घटे

कञ्चनपुरको गड्डाचौकीबाट भित्रिने पर्यटक घटे

महेन्द्रनगर- कञ्चनपुरको गड्डाचौकी नाका भएर भित्रिने तेस्रो मुलुकका पर्यटकको आवागमन घट्दै गएको छ । भारत हुँदै गड्डाचौकी नाकाबाट बर्दिया, पोखरालगायतका स्थानमा भ्रमणका लागि आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या कम हुँदै गएको गड्डाचौकीस्थित अध्यागमन कार्यालयले जनाएको छ ।

केही वर्षअघिसम्म वार्षिक तीन हजारदेखि बत्तीस सयसम्म अमेरिका, बेलायत, जर्मनी, इटलीलगायत तेस्रो मुलुकका पर्यटक यस नाकाबाट प्रवेश गर्दथे । कोरोना सङ्क्रमणका बेला भारतले यहाँबाट तेस्रो मुलुकका पर्यटकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि नेपालमा पनि पर्यटकको चहलपहल घटेको कार्यालय प्रमुख पदमराज भट्टले जानकारी दिए ।

“पहिले दैनिक १५/२० पर्यटक आउने गरेकामा अहिले त्यो सङ्ख्या घटेर दुई/तीन जनामा सीमित भएको छ”, उनले बताए । भारत भ्रमणमा रहेका पर्यटक भिसा नवीकरणका लागि पनि यो नाका हुँदै नेपाल घुम्न आउने गरेको प्रमुख भट्टको भनाइ थियो । गड्डाचौकीमा पर्यटक बोर्डको कार्यालय स्थापना गरी त्यहाँबाट भित्रिने पर्यटकलाई स्थानीय पर्यटकीय गन्तव्यबारे जानकारी दिने गरिएको थियो तर केही वर्षयता उक्त कार्यालय बन्द भएपछि सुदूरपश्चिममा पर्यटकीय गतिविधि बढाउनेतर्फ कसैले ध्यान नदिएको उनको गुनासो थियो ।

प्रतिकृया दिनुहोस्