काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि नेपालको झण्डा सहितको पानी जहाज समुद्रमा आवागमन हुने बताएका छन्।
पोखरामा भएको चुनावी सभालाई सोमबार सम्बोधन गर्दै ओलीले उक्त दाबी गरेका हुन्। आफू नेतृत्वको सरकारकै पालामा यो प्रक्रिया अघि बढेको तर देउवा सरकारले अनुमति नदिएकोले मंसिर ४ पछि एमालेको सरकार आउने र आवश्यक स्वीकृति दिएर सञ्चालनमा ल्याउने ओलीले बताए।
‘मंसिर ४ पछि हामी सञ्चालनका लागि स्वीकृति दिन्छौँ र हाम्रो पानीजहाज नेपाली झण्डा राखेर कोसी, गण्डकी हुँदै गङ्गाको बाटोबाट समुद्रसम्मको आवागमन छिटो, सस्तो र सुरक्षित हुन्छ। यसका लागि सर्भे भइसकेको छ। अब हामीले पोर्ट मात्र बनाउन बाँकी छ,’ ओलीले भने।
ओलीले आफूले पानीजहाज सञ्चालन गर्ने भन्दा मजाक उडाएको दुखेसो पनि पोखे। उनले भने, ‘हामीले समुद्र हाम्रो पनि हो। हामी पानीजहाज चलाउन सक्छौँ भन्यौँ, यहाँका केही बुझक्कड ठान्नेहरूले मजाक उडाए।’